भक्तपुर– भक्तपुरको बालकोटमा बिहीबार बिहान भएको झडप झन्डा राखिएको विषयबाट सुरु भएको अनुसन्धानमा खुलेको छ।
रोज भिलेजबाट श्रीकृष्ण मन्दिर जाने उक्त सडकखण्डमा नेपाली कांग्रेसको मात्र झन्डा राखेपछि विवाद सुरु भएको हो। विवाद बढ्दै गएपछि कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुन पुग्यो।
झडपमा १६ वटा घरका सिसा फुटेका छन्।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्यविनायक नगरपालिकाको मेयर उम्मेदवार रहेका विष्णु कार्कीको घरमा समेत तोडफोड भएको छ। घटनामा तीन जना घाइते भएका छन्, एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा वाम गठबन्धनका कार्यकर्ताहरुले कांग्रेसको झन्डा राखिएका घरमा ढुंगा हानेपछि झडप सुरु भएको खुलेको छ। केही समय टोल तनावग्रस्त बनेको थियो।
नेपाली कांग्रेसको टोल भएकाले एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको कांग्रेस नेता कार्कीले आरोप लगाए। ‘योजनाबद्ध रुपमै आक्रमण भएको हो,’ उनले नेपाल लाइभसँग भने, ‘सिन्धुपाल्चोकका केटाहरु ल्याएर हामीमाथि आक्रमण भएको छ।’
महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण रानाले घटनाको अनुसन्धान जारी रहेको बताएकी छिन्।
यसरी भएको थियो झडप, भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।