काठमाडौं– एएफसी कपको सुरुवाती ३ खेलमा जित हात पार्न नसकेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार आफ्नो चौथो खेल खेल्दैछ।
मनाङले बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा भारतीय क्लब मिर्नेभा पञ्जावसँग खेल्न लागेको हो।
खेलअघि मनाङका प्रशिक्षक छिरिङ जित्नका लागि मैदान उत्रने बताएका छन्। उनले यसअघिका गल्ती र कमजोरी सुधार गर्दै मौकाको सदुपयोग गर्ने बताए। 'टिम संचरनामा केहि परिवर्तन गरेर अघि बढ्छौं,' उनले भने,'जित निकाल्ने लक्ष्य छ।'
पछिल्लो तीन खेलमा जित हात पार्न नसकेको दोष भने उनले नेपाली फुटबलको स्तरलाई दिए। उनले नेपालले धेरै सिक्न बाँकी रहेको पनि बताए।
यता पञ्जावले पनि जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन। उसले सुरुवती तीन खेल नै बराबरी खेलेको थियो। पञ्जावले पनि आफ्नो चौथो खेलमा जित निकाल्ने लक्ष्य लिएको छ।
पञ्जावका प्रशिक्षक सचिन बाडाधेले ३ अंकका लागि खेल्ने बताउँदै अघि भने,'हामी तीन अंकका लागि खेल्छौं। खेलाडी सबै फिट र तयार छन्। यसअघिका गल्ती नदोहोर्याएर अघि बढेमा हामी अघिल्लो चरणमा पुग्ने सम्भावना छ।' साथै उनले एन्फाको टर्फमा खेल्न गाह्रो हुने पनि बताए।

सुरुवाती २ लगातार खेलमा पराजित भएको मनाङ मर्स्याङ्दीले दुई साताअघि पञ्जावविरुद्ध नै खेलेको थियो। भारतको भुवनेश्वरमा भएको खेलमा मनाङले गत सिजनको आइ लिग च्याम्पियन पञ्जावलाई २–२ को बराबरीमा रोकेर पहिलो अंक जोड्न सफल भएको थियो। समूह 'ई' को अघिल्ला २ खेलमा अंक जोड्न नसकेको मनाङलाई पहिलो अंकले राहत मिलेको थियो।
यसअघि मनाङले ढाकासँग एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको खेल १–० ले गुमाएको थियो। मनाङले दोस्रो खेल चेन्नइयीनसँग खेल्यो। गत सिजनको भारतीय सुपर लिग च्याम्पियनसँगको खेलमा मनाङ २–० गोलले पराजित भएको थियो।
मनाङले बुधबार पञ्जावसँग खेलेपछि पाँचौ चरणमा ढाकासँग बंगबन्धु रंगशालामा आगामी असार ४ गते र अन्तिम खेलमा असार ११ गते चेन्नइयीनसँग एन्फा कम्प्लेक्समा खेल्नेछ।

समूह 'ई' बाट एक टिम मात्र अघिल्लो चरणमा पुग्नेछ। तीन चरण सकिदा चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको ढाकाको ४ अंक छ भने पञ्जाव ३ अंक जोडेर तेस्रो स्थानमा छ। मनाङ १ अंकसहित चौथो स्थानमा छ।
मनाङलाई अघिल्लो चरणमा पुग्न बाँकी रहेका ३ खेल नै जित्नु पर्ने अवस्थामा छ। मनाङलाई ३ खेल जितेर मात्र पुग्दैन शीर्ष स्थानको चेन्नइयीनले ३ मध्ये २ खेलमा हार बेहोर्नु पर्ने अवस्थामा छ। जुन समिकरण मनाङका लागि कठिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।