काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई अमूल्य मताधिकारको प्रयोग गर्न सबैमा आह्वान गरेकी छन्।
आममतदाताको नाममा जारी गरेको सन्देशमा उनले नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् आज ४५ जिल्लामा हुन लागेको निर्वाचनले लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गराउने उल्लेख गरेकी छिन्। साथै आगामी माघ ७ गतेभित्र संघीय संरचना अन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको उनले स्मरण गराएकी छिन्।
यो निर्वाचनमा सहभागी हुनु केवल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभई आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत रहेको उनको भनाइ छ। सन्देशमा नेपालको संघीय संरचनाअनुसार हुने पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन उनले अनुरोध गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।