काठमाडौं– 'अन्तिम बल थियो। चेन्नईले एक रन बनाएको अवस्थामा खेल सुपर ओभरमा जान्थ्यो। विकेट लिएर मुम्बईलाई जिताउन चाहान्थे। त्यसैले अन्तिम बलमा विकेट लिनका लागि बलिङ गरेको थिएँ,' आइतबार भएको आइपिएलको फाइनलपछि मुम्बई इन्डियन्सका बलर लासिथ मालिङ्गाले दिएको प्रतिक्रिया हो यो।
अन्तिम बलमा मालिङ्गा खलनायक बन्न पनि सक्थे। चेन्नईका शार्दुल ठाकुरलाई एलबिडब्लूको धरापमा पारेपछि मुम्बईको जितमा मालिङ्गा नायक सावित भए र मुम्बईलाई चौथो आइपिएलको च्याम्पियन बनाए।
आइतबार हैदरावादमा भएको खेलको अन्तिम ओभरमा चेन्नईका लागि ९ रनको आवश्यकता थियो। यो अवस्थामा मुम्बईका कप्तान रोहित शर्माले मालिङ्गालाई बल थमाएका थिए। आफ्नो तेस्रो ओभरमा २० रन खर्चिएका मालिङ्गाका लागि अन्तिम ओभरमा ९ रन रोक्नु चुनौतीपूर्ण देखिएको थियो। किनकी स्ट्राइकमा चेन्नईका सेट ब्याट्सम्यान सेन वाट्सन थिए।
२०औं ओभरको पहिलो बलमा मालिङ्गा योर्कर गरेका थिए। जुन बलमा वाट्सनले एक रन लिएका थिए। दोस्रो बल फुलटस थियो। जुन बलमा रवीन्द्र जडेजाले १ रन लिएका थिए। तेस्रो बल स्टम्प बाहिर योर्कर गरिएको थियो। तेस्रो बलमा वाट्सनले २ रन बनाएका थिए।
तीन बलमा ५ रन दिएका मालिङ्गाले चौथो बलमा मिडल स्टम्पमा योर्कर गरेका थिए। जहाँ वाटसनले २ रन लिनका लागि कुदेका थिए। तर वाट्सन ८० रन बनाएर खेलिरहेको स्थितिमा रनआउट हुन पुगे। त्यसपछि चेन्नईका लागि ब्याटिङ गर्न शार्दुल ठाकुर आए। पाँचौ बलमा ठाकुरले २ रन लिएका थिए।
अन्तिम बलमा चेन्नईलाई जितका लागि २ रन चाहिएको थियो। चेन्नईले १ रन बनाएको स्थितिमा खेल बराबरी हुँदै सुपर ओभरमा पुग्थ्यो। विकेट लिएको अवस्थामा खेल मुम्बईले १ रनले जित्थ्यो। त्यसैले मालिङ्गाले अन्तिम बलमा टिमलाई जिताउन विकेट लिनका लागि बल फ्याँकेका थिए। मालिङ्गाले अन्तिम बलमा स्टम्पमा गरेका थिए। स्लो योर्कर बल शार्दुलको खुट्टामा लागेको थियो। जहाँ मालिङ्गाले अपिल गरेपछि अम्पायरले एलबिडब्लु दिएका थिए र मुम्बई च्याम्पियन बनेको थियो।

अन्तिम ओभरमा सानदार बलिङ गरेका मालिङ ४९ रन खर्चिएका थिए। पहिलो ३ ओभरमा ४२ रन दिएका उनले अन्तिम ओभरमा कुनै बाउन्ड्रि नखादा ७ रन मात्र दिए।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन जोड्यो। वाट्सनले ८० रन जोड्नु बाहेक चेन्नईका लागि फाप डु प्लेसिसले २६ रन र डिजे ब्राभोले १५ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा मुम्बईका जसप्रित बुमहाराले २ विकेट लिँदा राहुल चाहर, क्रुनाल पाण्ड्या र मालिङले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। उसका लागि केइरन पोलार्डले नटआउट ४१ रन जोडे। उनले २५ बलमा ३ चौका र ३ छक्का हिर्काए। क्वान्टन डे ककले २९ रन र कप्तान रोहित शर्माले १५ रन जोडे। बलिङमा चेन्नईका दीपक चाहरले ३ विकेट लिँदा शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।