काठमाडौं- काठमाडौं महानगरपालिकाले मंसिर २९ गते मनाउने २३औं वार्षिकोत्सवको अवसरमा धूलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धूलो उठाउने निर्णय गरेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्नेछ।
मेयर शाक्यले जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धूलोमुक्त काठमाडौं अभियानलाई प्राथमिकतामा राखिएको बताए।
'काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धूलो व्यवस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमै छ।'
तत्कालीन काठमाडौं नगरपालिकालाई ०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो। वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट बागदरबारसम्म प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।