विराटनगर– निर्वाचनको पूर्वसन्ध्यामा यतिबेला मौन अवधि चलिरहेको छ। मोरङका ६ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका नेताहरु प्रचार-प्रसारका क्रममा भएका कमी–कमजोरी बुझ्ने र मतदाताको अपेक्षा केलाउने प्रयास गरिरहेका छन्।
नेपालमा २०१५ सालदेखि विभिन्न व्यवस्थाअनुसार संसदीय निर्वाचन हुँदै आएको छ। तर, यसपाली अरु बेलाको निर्वाचन भन्दा मतदाताको मुड भिन्न देखिएको अनुभव राजनीतिक दलका नेता-कार्यकर्ताले गरेका छन्।
दलहरु विगतमा जस्तै यस पटक पनि चुनावी प्रचारका क्रममा राजनीतिक एजेन्डा लिएर मतदातामाझ गएका थिए। तर, स्थानीय जनताले भने राजनीतिक विषयभन्दा पनि आफ्नो गाउँ-ठाउँको विकासमा चासो देखाए।
‘यसपालीको निर्वाचनमा मानिसहरु राजनीतिक मुद्दाभन्दा विकासमा बढी केन्द्रित देखिएका छन्’, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रदेश सभा ‘ख’ का उम्मेदवार विश्वनाथ रिजाल भन्छन्, ‘पहिलो पल्ट उनीहरुले आफ्नो उम्मेदवारलाई मेरो घर अगाडि किन बाटो आएन भनेर सोधिरहेका छन्।’
चुनावी अभियानमा सुरुमा वाम गठबन्धन र लोकतान्त्रिक मोर्चाको नाममा मत माग्दै हिँडेका उम्मेदवारहरु आफ्नै मतदाताबाट घेरिन पुगेपछि उनीहरु आफ्नो नारा परिवर्तन गर्न बाध्य समेत भएका थिए।
‘मतदाताले पहिलो पल्ट आफ्नो उम्मेदवारलाई विकास खोइ भनेर सोधेको जस्तो मलाई लाग्छ’, विराटनगर २ का पूर्व वडाध्यक्ष प्रवीण (पारुल) उप्रेती भन्छन्, ‘पहिले नेताहरु आफ्नो घरदैलोमा आउनासाथै रमाइहाल्ने मतदाताहरु अहिले प्रश्न गरिरहेका छन्।’
मतदातामा आएको यो परिवर्तनलाई राजनीतिक विश्लेषकहरुले सकारात्मक रुपमा लिएका छन्। उनीहरु अब राजनीतिक मुद्दामा मात्र जनतालाई अल्झाइरहने तत्व परास्त हुँदै जाने संकेत देखिएको बताउँछन्।
‘मानिसहरु राजनीतिक कुराले अघाइसकेको संकेतको रुपमा यसलाई बुझ्दा हुन्छ’, राजनीतिक विश्लेषक दीपक लोहनी बताउँछन्, ‘हिजो चुनाव जितेर जाने नेताहरुको २–४ जना आसेपासेको विकास बाहेक न गाउँको विकास भएको छ, न स्थानीय जनताको जीवनस्तर उकासिएको छ।’
यतिबेला दलका उम्मेदवारहरु आम मतदाताभन्दा पनि आफ्नै कार्यकताबाट बढी घेरिएका छन्। उनीहरुलाई आफ्नै कार्यकताले प्रश्न गरिरहेका छन्– ‘तपाईंलाई जिताएर पठाएको यति धेरै वर्ष भयो, विकास खोइ?’
पूर्व वडाध्यक्ष उप्रेती भन्छन्, ‘हिजो हामी नै कम्युनिस्ट र कांग्रेस भनेर पछाडि लाग्यौं। तर, हाम्रा सन्तानलाई योसँग केही मतलब छैन। उनीहरु वाद होइन, विकास र रोजगारी चाहन्छन्।’
मोरङका गरिब बस्तीहरुमा शिक्षितहरुको संख्या बढ्दै जानु र पछिल्लो समय सोसल मिडियाको प्रभावका कारण पनि मतदाता चनाखो भएर उम्मेदवारलाई र्यासखर्यारखती पारेका हुन्।
‘भोट माग्न आउँदा नेताहरुले आफूमाथि कार्यकर्ता यसरी उर्लिनेछन् भनेर कल्पना पनि गरेका थिएनन् होला’, विराटनगरका भाँडा व्यापारी शैलेश ताम्राकार भन्छन्, ‘मानिसहरुलाई राजनीतिक गफ सुन्दासुन्दा वाक्क लागिसक्यो। जति गफ सुने पनि घर अगाडिको बाटो र नाली उस्तै छ!’
एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल पनि राजनीतिक कुराले जनता अघाइसकेको कुरा स्विकार्छन्। भोट माग्न जाने क्रममा जनताले बाटो, पुल, शिक्षा, स्वास्थ्यको माग चर्को रुपमा उठाएको बताउँदै भन्छन्, ‘हिजोको जस्तो परिस्थिति अहिले छैन। जनता विकास र रोजगारीमा केन्द्रित छन्। उनीहरुका लागि राजनीतिक कुरा गौण बन्दै गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।