अन्तिम बलमा मालिङ्गाले विकेट लिएपछि मुम्बई च्याम्पियन

नेपाल लाइभ | २०७६ बैशाख ३० सोमबार | Monday, May 13, 2019 ००:०२:०० मा प्रकाशित

काठमाडौं- अन्तिम बलमा लासिथ मालिङ्ले विकेट लिएपछि मुम्बई इन्डियन्सले आइपिएल २०१९ को उपाधि जितेको छ। आइतबार भएको उपाधि भिडन्तमा चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो। अघिल्लो सिजनको विजेता चेन्नईलाई हराएको मुम्बईले चौथो पटक उपाधि जितेको हो।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि ९ रन चाहिएको थियो। सो ओभरमा मुम्बईका बलर लासिथ मालिङ्गाले पहिलो ३ बलमा ४ रन खर्चिए। चौथो बलमा ८० रन बनाएर खेलिरहेका सेन वाट्सन रनआउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। पाँचौ बलमा चेन्नईका शार्दुल ठाकुरले २ रन लिए। अन्तिम बलमा २ रन चाहिएको स्थितिमा मुम्बईका मालिङ्गाले शार्दुल ठाकुरलाई एलबिडब्लूको धरापमा पारेपछि खेल मुम्बईले जित्यो।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन जोड्यो। वाट्सनले ८० रन जोड्नु बाहेक चेन्नईका लागि फाप डु प्लेसिसले २६ रन र डिजे ब्राभोले १५ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा मुम्बईका जसप्रित बुमहाराले २ विकेट लिँदा राहुल चाहर, क्रुनाल पाण्ड्या र मालिङले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। उसका लागि केइरन पोलार्डले नटआउट ४१ रन जोडे। उनले २५ बलमा ३ चौका र ३ छक्का हिर्काए। क्वान्टन डे ककले २९ रन र कप्तान रोहित शर्माले १५ रन जोडे। बलिङमा चेन्नईका दीपक चाहरले ३ विकेट लिँदा शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।