काठमाडौं- हिरो भारतीय महिला लिगमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले दोस्रो ह्याट्रिक गरेकी छिन्। लगातार चौथो खेलमा गोल गर्ने क्रममा सेथु एफसीकी खेलाडी सावित्राले आइतबार कोल्हापुर सिटीविरुद्ध ह्याट्रिक गरेकी हुन्। खेलमा उनले ५७, ६७ र ७७ मिनेटमा गोल गरेर ह्याट्रिक गरेकी थिइन्।
खेलमा सेथुले कोल्हापुरलाई ९-० गोलले हरायो। लगातार चार खेलमा जित हात पारेको सेथु अंक तालिकामा शीर्ष स्थानमा छ।
यसअघि सेथु एफसीकी खेलाडी सावित्राले शुक्रबार साइ कुटाकविरुद्ध एक गोल गरेकी हुन्। सावित्राले पहिलो खेलमा मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गर्दा बैंग्लोर युनाइटेड एफसीविरुद्ध १ गोल गरेकी थिइन्। सावित्राले चार खेलमा ९ गोल गरिसकेकी छिन्।
.jpg)
सावित्रासहित भारतीय राष्ट्रिय टिमका खेलाडीको साथ पाएको सेथुले तेस्रो खेलमा कुटाकलाई पनि ९-० नै हराएको थियो।
दोस्रो खेलमा बैंग्लोरविरुद्धको अघिल्लो खेलमा नेपालकी अर्की मिडफिल्डर मिडफिल्डर अनिता बस्नेतले डेब्यू गर्दा गोल पनि गरेकी थिइन्। सो खेलमा सेथुले बैंग्लोरलाई ३–० ले हराएको थियो। समूह बीमा शीर्ष स्थान रहेको सेथुले पहिलो खेलमा मनिपुरलाई ६–४ ले हराएको थियो।
हिरो भारतीय महिला लिग खेल्नका लागि सावित्रा र अनिता गत महिना सेथुमा आबद्ध भएका थिए। तामिल नाडुको यो क्लब गत सिजनमा सेमिफाइनलसम्म पुगेको थियो। लिगमा दुई समूहमा प्रतिस्पर्धा हुँदैछ। सावित्रा र अनिता आबद्ध सेथु समूह बीमा छ। जहाँ सेथुसहित बैंग्लोर युनाइटेड, बरोडा एफसी, सीआरपीएफ एफसी, कोल्हापुर, मनिपुर पुलिस र कुटाक छन्। लिगका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे २२ मा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।