काठमाडौं– बिहीबार हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने आशंकामा प्रहरीले राजधानीमा गुन्डागर्दीमा संलग्नहरुमाथि निगरानी बढाएको छ।
बानेश्वर क्षेत्रका पुराना गुन्डा मिलन सेक्सीलाई बुधबार पक्राउ गरी प्रहरीले सचेत गराएर छाडेको छ। अन्य केही गुन्डालाई पनि पक्राउ गरी तारेखमा राखिएको छ।
निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा मिलन सेक्सीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए। 'पक्राउ गरेर सोधपुछ गर्दा त्यस्तो नपाइएपछि उनलाई रिहा गरिएको छ,' उनले भने।
त्यस्तै सतुंगल क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा काठमाडौं परिसरले दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई दैनिक तारेखमा राखिएको छ।
गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला प्रहरीले राजधानीका सबैजसो गुन्डा नाइकेहरुलाई पक्राउ गरी थुनामा राखेको थियो। आफू निकट उम्मेदवारलाई भोट दिन धम्क्याउन सक्ने भएकाले गुन्डागर्दीमा संलग्नहरुमाथि प्रहरीले निगरानी बढाएको हो।
स्थानीय तहको निर्वाचनमा पक्राउ परेका कतिपय गुन्डा नाइके अहिले उम्मेदवार नै छन्। दीपक मनाङे मनाङबाट तथा गणेश लामा काभ्रेबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन्। विगतमा प्रहरीको गुन्डागर्दीकै सूचीमा रहेका मीनकृष्ण महर्जन पनि ललिलपुरबाट उम्मेदवार बनेका छन्।
ललितपुरमा गुन्डागर्दी गर्न सक्नेहरुलाई निगरानीमा राखिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश ऐरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।