काठमाडौं- म्यानचेस्टर सिटीले सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम दिन आइतबार ब्रिङटनलाई ४-१ गोलले पराजित गर्दै सिटी लिग च्याम्पियन बनेको हो। गत सिजनको उपाधि जितेको सिटी माथिल्लो डिभिजन च्याम्पियन बनेको यो चौथो पटक हो।
सन् २००९ पछि लगातार दोस्रो सिजन उपाधि जित्ने सिटी पहिलो टिम बन्यो।
अन्तिम दिन सिटीलाई उपाधि जित्न जितको आवश्यकता थियो। तर सुरुवातमा सिटी पछि परेको थियो। २७ मिनेटमा मुरेले गोल गरेर ब्रिङ्टनलाई अग्रता दिलाएका थिए। तर ८० सेकेन्डमै सिटीले गोल फर्कायो। डेभिड सिल्भाले डिबक्स भित्र दिएको चतुर पासमा सर्जियो अग्युरोले बराबरी गोल गरे।
३८ मिनेटमा लपोर्टेले कर्नर बलमा हेडमार्फत गोल गरेर सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा २-१ ले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्यो। सिटीका लागि खेलको ६३ मिनेटमा रियाद महारेजले डिबक्स बाहिरबाट दर्शनिय गोल गरेका थिए। ७२ मिनेटमा गुन्डोगनले फ्रिकिम अर्को उत्कृष्ट गोल गरेपछि सिटी उपाधितर्फ अघि बढेको थियो।

जितपछि सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो। दोस्रो स्थानको लिभरपुलले ९७ अंक जोड्यो। अन्तिम दिन लिभरपुलले वुल्भ्सलाई २-० गोलले हरायो। लिभरपुलका लागि उपाधि जित्न सिटीले अंक गुमाउनु पर्ने समिकरण थियो। तर सिटीले जित हात पारेपछि लिभरपुलको उपाधि जित्ने लक्ष्य फेरि पनि पूरा हुन सकेन।
अन्तिम दिन लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको चेल्सी तेस्रो भयो। चेल्सीले ७२ अंक जोडयो। टोटनह्याम ७१ अंकसहित चौथो बन्यो। आर्नसल पाँचौ हुने क्रममा ७० अंक जोड्यो। म्यानचेस्टर युनाइटेड ६६ अंक जोडेर छैटौं स्थानमा सीमित रह्यो। अन्तिम दिन म्यानचेस्टर युनाइटेडलाई कार्डिफले २-० ले हरायो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।