साउथह्याम्टन- पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा घरेलु टिम इंग्ल्यान्डले जित हात पारेको छ। शनिबार राति सकिएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई १२ रनले पराजित गरेको हो। जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको थियो। यसअघि पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३ विकेटको क्षतिमा ३ सय ७३ रन जोड्यो। उसका लागि जोस बटलरले ५५ बलमा नटआउट १ सय १० रन तथा कप्तान इयान मोर्गानले ४८ बलमा नटआउट ७१ रन जोडे। ओपनर जासन रोएले ८७ तथा जोन बिस्ट्रले ५१ रनको योगदान दिए। बलिङमा पाकिस्तानका साहिन साह अफ्रिदी, हसन अलि र यासिर साहले १-१ विकेट लिए।
३ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदा ३ सय ६१ रन मात्र जोड्न सक्यो। उसका लागि फकर जमानले १ सय ३८ रन जोडे भने बाबर अजाम र असिफ अलिले ५१-५१ रन जोडे। कप्तान सार्फराज अहमेदले नटआउट ४१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा इंग्ल्यान्डका डेभिड विली प्लुङकेटले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।