काठमाडौं– सम्झौता उल्लंघन गरी खोटो संकलन गरेपछि वन मन्त्रालयले रोक लगाएका दुई कम्पनीमध्ये सर्वोच्च अदालतले दिव्या रोजिन एन्ड टर्पेन्टाइनलाई संकलन कार्य पुनः दिन फैसला सुनाएको छ।
सर्वोच्चले अर्को कम्पनी हिमालय रोजिन एन्ड टर्पेन्टाइनलाई भने मन्त्रालयकै निर्णयलाई सदर गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश टंकबहादुर मोक्तानको पूर्ण इजलासले दिव्यालाई मात्र खोटो संकलन गर्न दिने फैसला सुनाएको हो।
सरकारसँग भएको सम्झौता बमोजिम खोटो संकलन गर्न नपाएको भन्दै दिव्या २३ माघ ०६९ मा सर्वोच्च अदालत पुगेको थियो। सरकारी स्वामित्वको नेपाल रोजिन एन्ड टर्पेन्टाइन ०६३ सालमा निजीकरण ऐन ०५० बमोजिम दिव्या रोजिनले खरिद गरेको थियो। कम्पनी खरिद गरे पनि साविकको नेपाल रोजिनले उपभोग गरेको अधिकार आफूले नपाएको भन्दै वन र अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई कम्पनी अदालत गएको थियो।
तत्कालीन नेपाल रोजिनलाई पश्चिमका चार जिल्लाबाट ४ हजार र पूर्वका जिल्लाबाट १ हजार २ सय ८ गरी वार्षिक ५ हजार २ सय ८ मेट्रिक टन खोटो संकलन गर्ने इजाजत दिइएको थियो।
नेपाल रोजिनको प्लान्ट, मेसिनरी, स्टोर इन्भेन्ट्रीका साथै मौज्दात खोटो एवं खोटो संकलन गर्ने अधिकारवापत दिव्या पश्मिना उद्योगले सरकारलाई ११ करोड १ लाख रुपैयाँ बुझाएको र भवनको प्रतिवर्ष भाडावापत ३० लाख १२ हजार रुपैयाँ बुझाउने बोलकबोल गरेको दाबी उसको निवेदनमा गरिएको छ। कम्पनीको त्यही निवेदनको आधारमा सर्वोच्चले सम्झौता बराबर खोटो संकलन गर्न दिन भनेको हो।
अर्थ मन्त्रालयले वन तथा भूसंरक्षण मन्त्रालय र तत्कालीन दिव्या पश्मिना उद्योगबीच ०६३ साल बैशाख २९ गते भएको सम्झौता बमोजिम कम्पनीलाई खोटो संकलन गर्न सम्बन्धित जिल्लाका वन कार्यालयहरूमा पत्राचार गरिएको थियो।
डोटी वन कार्यालयले आफूलाई ४ लाख ४५ हजार रूखबाट खोटो निकाल्ने अनुमति दिएकोमा २७ हजार रूखको मात्र संकलन गर्न पाएको दाबी कम्पनीले रिटमा गरेको थियो। त्यस्तै, बैतडी वन कार्यालले २ लाख ३० हजार रूख उपलब्ध गराउनुपर्नेमा ९० हजार वटामा मात्र अनुमति दिएको निवेदनमा उल्लेख थियो।
अर्को कम्पनी हिमालयले डोटी, कैलाली, बैतडी र डडेलधुरा लगायत जिल्लामा खोटो संकलनको अनुमति पाएको थियो। तर, कम्पनीले खोटो संकलन निर्देशिका पालना नगरेको पाइएपछि मन्त्रालयले रोक लगाएको थियो। उक्त निर्णय विरुद्ध कम्पनीले ०७३ जेठ १६ मा रिट दायर गर्यो। उक्त रिटमा अन्तरिम आदेश जारी भए पनि मन्त्रालयले काम गर्न नदिएको भन्दै असार १६ गते सर्वोच्चमा अवहेलना मुद्दा हालेको थियो।
सो रिटमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले खारेज हुने फैसला सुनाएको हो।
के हो खोटो ?
खोटो रानी सल्ला र खोटे सल्लाको ‘चोप’ हो। यस्तो सल्ला चुरे र मध्य पहाडमा पाइन्छ। एउटा रूखबाट ८ महिना खोटो निकाल्न सकिन्छ।
रूखको बोक्रा ताछेर ‘ग्रुप’ काटिन्छ र कोनिकल सोलीमा खोटो जम्मा गरिन्छ। कम्तीमा एक सातामा सोली भरिएपछि खोटो टिनमा खन्याइन्छ। एउटा रूखमा एक एमएमका ३२ वटा ग्रुप काटेर खोटो संकलन गर्न मिल्छ।
संकलन गरिएको खोटो घाटगद्दीपछि वन कार्यालयसँग प्रमाणित गराएर छुट पुर्जी लिइन्छ। र, कम्पनीले कारखानामा ढुवानी गर्छन्। खोटो १० प्रतिशत नेपालमा प्रयोग हुन्छ भने ९० प्रतिशत भारत निकासी हुन्छ।
कागजलाई चिल्लो पार्न र पेन्ट्स, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग हुन्छ। खोटोबाट तेल पनि निस्किन्छ, त्यसलाई टर्पेन्टाइन भनिन्छ। त्यसको प्रयोग पनि पेन्ट्स लगायतमा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।