काठमाडौं- आइपिएल क्रिकेटको उपाधिका लागि चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो।
दुई टिमबीच चौथो पटक उपाधि भिडन्त हुन लागेको हो। पछिल्लो पटक सन् २०१५ मा मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो। यस सिजनको उपाधि भिडन्त आगामी आइतबार हैदरावादमा हुनेछ।
यसअघि मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
शुक्रबार दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। चेन्नईको जितमा ओपनरद्वय फाप डुल प्लेसिस र सन वाटसनले ५०-५० रन जोडे। प्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का हिर्काए। सुरेश रैना ११ रन र महेन्द्रसिंह धोनी ९ रनमा आउट भए। अम्बाती रायदुले नटआउट २० रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोड्न सक्यो। दिल्लीका लागि रिशव पन्तले ३८ रन र कोलिन मुनरोले २७ रनको योगदान दिए। इशान्त शर्माले अन्तिम ३ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा नटआउट १० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङमा चेन्नईका चार बलरले २-२ विकेट लिए। दिपक चाहर, हरवजन सिंह, रविन्द्र जडेजा र डिजे ब्राभोले २-२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।