काठमाडौं- निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उपत्यकाबाट करिब १६ सय जना पक्राउ परेका छन्। जसमध्ये ५ सयभन्दा धेरैलाई प्रहरीले मुद्दा चलाएको छ। मुद्दा चलाइएकामध्ये ३८ जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता छन्।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीका अनुसार मंसिर १ यता शंकास्पद एक हजार ६ सय ८४ जनालाई पक्राउ गरिएको हो। मुद्दा चलाइएकाहरुको संख्या ५ सय ५० पुगेको छ।
काठमाडौंमा एक हजार ४ सय ५९, ललितपुरमा एक सय ४४ तथा भक्तपुरमा ७० जना पक्राउ परेका छन्।
६२ स्थानमा २४ घन्टे चेकिङ
काठमाडौंका ६२ नाका तथा प्रमुख चोकमा प्रहरीले २४ घन्टे चेकिङ सुरु गरेको छ। ती स्थानमा आवश्यकता अनुसार तालिमप्राप्त कुकुरको पनि सहयोग लिने गरिएको छ। सवारीसाधन तथा पैदल गस्तीको माध्यमबाट समेत मोबाइल ड्युटी परिचालन गरिएको प्रवक्ता जोशीले बताए।
काठमाडौं प्रवेश गर्ने विभिन्न नाकाहरुमा पनि चौबीसै घन्टा चेकजाँचको व्यवस्था मिलाएको प्रहरीले शंकास्पद र सन्दिग्ध व्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको छ।
काठमाडौंमा झन्डै ४५ सय प्रहरी
मंसिर २१ गते हुने निर्वाचनका दिन विभिन्न ३२० मतदान स्थलमा ४ हजार ४ सय ८६ नेपाल प्रहरी तथा म्यादी प्रहरीहरु परिचालन गरिएको छ। आवश्यक स्थानमा तुरुन्त परिचालन हुन २४ वटा मोबाइल टोली र एउटा रिजर्भ टोलीको समेत व्यवस्था गरिएको छ।
'त्यसका अतिरिक्त सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा सुरक्षा व्यवस्था अनुगमन गर्नसमेत प्रहरी टोली परिचालन गरेका छौं,' काठमाडौं परिसरका एसएसपी रविन्द्र धानुकले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।