चितवन- इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता ७ जना अझै फेला पर्न सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट अर्घाखाँची हिँडेको सो बसमा अरु यात्रु र र आफन्तहरूले सम्पर्कमा नआएको भनी दाबी गरेका ७ जनाको अवस्था अझै अज्ञात रहेको हो।
बेपत्तामध्ये ३ जनाको नाम चलानीमा देखिएको छ भने अन्य बीचबाटोबाट चढेको देखिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार बेपत्ता हुनेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का दुर्गाबहादुर कार्की, सन्धिखर्क–१ का मनिषा थापा, धारापानी–३ का नमराज बन्जाडे, अर्घाखाँची भूमिकास्थाना नगरपालिकाका हुमकला राहु मगर, नवलपरासीका शंकर कुँवर, विकास रेग्मी र कोपिला पोखरेल छन्।
गत बुधबार भएको घटनामा ७ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।
लु २ ख २९१ नम्बरको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो। खसेको तीन दिनपछि नदीबाट बसलाई बाहिर निकालिएको थियो। घाइतेहरूको अहिले पनि काठमाडौँ र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।