काठमाडौं– वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलाहरूको उद्धार गरिएको छ।
उनीहरूलाई भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्धार गरी बिहीबार काँकडभित्ता ल्याइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए।
अध्यक्ष खड्काको अनुसार उनीहरूलाई रोजगारीका लागि मिजोरम, बर्मा हुँदै एसियाली मुलुक लैजान लागिएको थियो।
उद्धार गरिएका महिलाहरुलाई भोलिसम्म सुरक्षित रूपमा काठमाडौं ल्याइने उनले बताए।
सरकारले घरेलु कामदारका रुपमा नेपाली कामदारहरूलाई खाडी मुलुक जान रोक लगाएसँगै अवैधानिक बाटो भारत भएर जाने महिला कामदारहरुको संख्या बढ्दै गइरहेको छ।
गत फागुनमा पनि भारतको मणिपूर हुँदै तेस्रो मुलुक जान लागेका ३२ पुरुष र १ सय ५७ महिलासहित १ सय ७९ कामदारहरूलाई उद्धार गरिएको थियो।
'उद्धार गरेर ल्यायो, फेरि भारत हुँदै जान्छन्, हामीले कामदारको बाटो छेकेजस्तो भइरहेको छ,' अध्यक्ष खड्काले भने।
अवैधानिक बाटो हुँदै जाने कामदारहरूको सम्बन्धमा नियमन गर्न नसक्दा समस्या बढ्दै गइरहेको जानकारहरू बताउँछन्।
वैदेशिक रोजगार जाने महिला कामदारूको सम्बन्धमा काम गर्दै आएको पौरखी नेपालकी महासचिव सत्रमाया गुरुङकाअनुसार यसअघि भारतको मणिपुरबाट फर्काइएका महिलामध्ये २० जना महिलाहरूलाई पौरखी नेपालले मनोपरामर्श गरेर परिवारसँग पुनर्मिलन गराएको थियो।
सरकारले घरेलु कामदारका रुपमा महिला कामदार जान रोक लगाएर अवैधानिक बाटो हुँदै जाने कामदारहरूका सम्बन्धमा नियमन गर्न समस्याले विकराल रुप गएको गुरुङ भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।