राजविराज- गर्मी बढेसँगै सप्तरीमा सर्पदंशका घटना वृद्धि भएका छन्। बुधबार मात्रै सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–५, बानरझुलाका रन्जित कुमार रायकी छोरी प्रियाको सर्पले डसेर मृत्यु भएको हो। ठूलोबुबा दिनेश कुमार रायको आँगनमा खेलिरहेकी बालिकालाई विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।
सर्पले डसेको जानकारीपछि रन्जितले तत्कालै छोरीलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएकाे बताए। तर, अस्पतालमा पुर्याउनु अघिनै बालिकाको मृत्यु भएको चिकित्सकहरुले घाेषणा गरेका थिए।
यसैगरी, केहीदिन यता छिन्नमस्ता गाउँपालिका-४ कि ८ वर्षिया मनिषा खातुन, सोही गाउँपालिका-१ कि ९ वर्षिया खुश्वु यादव, राजविराज नगरपालिका-४ कि १० वर्षिया ज्योति कुमारी साह, हनुमाननगर कंकालिनी नगरपालिका-२ कि ३५ वर्षिया पवनीदेवी रजक, महदेवा गाउँपालिका-४ कि ६ वर्षिया सगिरा खातुन लगायतलाई पनि सर्पले डसेको छ। उनीहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
गर्मी बढेपछि अस्पतालमा दैनिक सर्पदंशका बिरामी वृद्धि भइरहेको अस्पतालले जनाएको छ। सरदर दैनिक ५ जनासम्म सर्पले डसेका बिरामीको उपचार भइरहेको सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए। बैसाख महिनामा मात्रै ८१ जना सर्पदंशका बिरामीको उपचार गरिएको उनको भनाइ छ।
गर्मी महिनामा जमिन तातेर सर्प दुलोबाट बाहिर निस्कने र मान्छेका क्रियाकलापले असर गर्दा आक्रमण गर्ने भएकाले सर्पदंशका घटना बढेका डा दासले बताए। सजगता अपनाउन सके यस्ता घटना कम गर्न सकिने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।