दाङ- घोराही उपमहानगरपालिका १ को दुई गाउँमा आगोले २० घरगोठ जलेर नष्ट भएका छन्। वडा नम्बर १ को तल्लो माले र सिरुखर्कका गाउँमा जंगलबाट आएको आगोले २० घरगोठ जल्दा ५० लाखभन्दा बढीको क्षति भएको छ।
वन क्षेत्रबाट आएको आगो गाउँमा पस्दा मानवीय क्षति नभए पनि घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्। गोराखे वन क्षेत्रबाट आएको आगोले तल्लो मालेका ६ घर र २ गोठ पूर्ण रुपले जरेर नष्ट भएका छन्।
तल्लो मालेका चुमानसिंह बिष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ। त्यसैगरी सोही ठाउँकै गोमबहादुर घर्तीको २ वटा घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँको क्षति भएको छ।
अर्का स्थानीय टुकलाल घर्तीको टिनले छाएको एउटा घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुई वटा घर तथा एउटा गोठ जल्दा करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यसैबीच सोही वडाकै सिरुखर्कमा बेलुकी जंगलमा लागेको आगो गाउँमा पस्दा एउटै परिवारका १० घर गोठ जलेर खरानी भएको छ। माले वन क्षेत्रबाट आएको आगो गाउँमा पसेको थियो। प्रेमबहादुर थापा, हिमलाल थापा, शिवलाल थापा, मेघराज थापा र देवीराम थापाको १० घरगोठ जलेको छ।
तीव्र गतिमा चलेको हावाका कारण पनि आगो निभाउन र घर बचाउन नसकेको स्थानीयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।