जाेमसाेम विमानस्थलकाे स्तराेन्नतिकाे कार्य हुँदै। तस्बिर- प्रध्युम्न आचार्य।
ठिनी- पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रन-वे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो।
८ सय १५ मिटर रन-वेमध्ये २ सय १५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागेका हाैं', पौडेलले भने, 'विमानस्थलमा कालोपत्र थप गर्ने काम पनि हुन्छ।'
हाल ३ सेन्टिमिटर माेटाईकाे पिच भएको धावनमार्गमा थप ४ सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ। बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो। प्रत्येक चार/चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिकहरु बताउँछन्। विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ।
विमानस्थल स्तरोन्नतिका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा ९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन। मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनियर लालध्वज लामाले बताए।
गत असारमै सक्नुपर्नेगरी १५ महिनाको ठेक्का सम्झाैता भए पनि अबको २ महिनाभित्र काम सम्पन्न गरिसक्ने उनले बताए। विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ। जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा विमान उडान तथा अवतरण हुँदैनन्।
विमानस्थल स्तरोन्नति भएपछि विमान अवतरणमा सहज भई दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ। हाल धावनमार्गको कालोपत्र उप्किएको, ग्रेगर निस्किएर खाल्डाखुल्डी परेकाले विमान अवतरण गर्दा समस्या हुने गरेको छ।
पोखरा–जोमसोम हवाईमार्गमा समिट र तारा एयरका विमानले दैनिक ५ उडान भर्दै आएका छन्। पर्यटक र तीर्थयात्री ओसार्ने हेलिकाेप्टरको चाप पनि बढ्दो छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।