काठमाडौँ- द्वन्द्वकालीन मुद्धा टुंग्याउन बनाइएका दुई अयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले छुटेका प्रमाणपत्र पेस गर्न थप समय दिएको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका आवेदकलाई छुटेका प्रमाणपत्र बुझाउन समितिले ३ दिन म्याद थप गरेको हो।
समितिले चैत २५ गते पहिलोपटक ७ दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो। आवेदक बढेपछि समितिले दोस्रो पटक १० दिन थपेर गत बैशाख १७ गेतसम्मको समय दिइएको थियो।
समितिले बुधबार सूचना निकालेर आजैका मितिदेखि प्रमाणपत्र छुटेका उम्मेदवारलाई तीन दिनभित्र पेस गर्न भनेको छ। समितिले निकालेको सूचनामा संघसंस्थाबाट सिफारिस भएका आवेदनमध्ये दुई जनाको नाममा सहमति नभएको र केही संस्थाले संस्था दर्ता तथा नवीकरणको प्रमाणपत्र समेत पेस नगरेको भन्दै थपिएको समयभित्र ती सबै पेस गर्न समेत भनिएको छ।
गत चैत ११ बसे बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
समिति सचिवालयका अुनसार आयोगका १० जना पदाधिकारीका लागि ५७ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेहरुमा पूर्वन्यायाधीश, पूर्वसचिव, आयोगका पूर्वपदाधिकारी, मानवअधिकारवादीसम्म छन्। त्यस्तै पहिलेका अयोगका पदाधिकारीले पनि पुनः नियुक्तिका लागि रुचि देखाएका छन्।
आयोगको अध्यक्षका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दास, विशेष अदालतका पूर्वन्यायाधीश रमणमोहन भट्टराई, राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, आयोगकै पूर्वसचिव मधु रेग्मी, मानवअधिकारकर्मी आशिकराम कार्कीलगायतको आवेदन परेको छ।
त्यस्तै आयोगका पूर्वसदस्यहरु माधवी भट्ट, विष्णु पाठक र विजुल विश्वकर्माले समेत आवेदन दिएका छन्।
दुई आयोगका अध्यक्षका लागि १५ जनाले आवदेन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।