काठमाडौँ– संयुक्त राष्ट्रसंघ र अमेरिकासहित संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएक पटक विश्वमा यसले चर्चा पाएको छ।
विगतदेखि नै आणविक परीक्षणलाई आफ्नो प्रमुख काम जस्तोगरी निरन्तरता दिएको उत्तर कोरियाले विश्व समुदायको आग्रह र निन्दाको पनि वास्ता गरेको देखिँदैन। यस्ता परीक्षण पहिलेको तुलनामा यो कति शक्तिशाली छ र यसबाट अमेरिका वा अर्को कुनै देशको कहाँसम्म मार हान्न सक्छ भन्नेमै उत्तर कोरिया रमाएको देखिन्छ। करिब साढे दुई महिनासम्म लगभग शान्त जस्तो देखिएको उत्तर कोरियाले बुधबार बिहानदेखि क्षेप्यास्त्रको होडलाई पुनःविवादमा ल्याइदिएको छ। यसबाट विश्वभरि नै चिन्ता र चासो दुवै थपिएको छ।
३३ वर्षीय उत्तर कोरियाली शासक किम जोङ उनले एकपछि अर्को जारी राखेको आणविक अश्त्रको भित्री ध्येय अमेरिकालाई धम्की दिनु बढी हो। पछिल्लो पटक परीक्षण गरेको हाइड्रोजन मिश्रित परीक्षणले विश्वमा उत्तेजना बढाउने मात्र काम गरेको थियो। गएको बुधबारको यो परीक्षणले भने चिन्ता थपिदिएको छ। किनभने यसलाई अहिलेसम्मकै शक्तिशाली भनिएको छ। अर्कोतर्फ उत्तर कोरिया आफैँले पनि अमेरिकाको जुनसुकै भूभागमा पनि सजिलै पुग्न सक्ने र शक्तिशाली रुपमा मार हान्न सक्ने परीक्षण भनेको छ।
अमेरिकाले उसको गठवन्धन प्रयोग गरी आफ्ना विरुद्धमा गर्नसक्ने कारबाहीका लागि आफू रक्षात्मक अवस्थामा छु भनेर उत्तर कोरियाले यो पछिल्लो परीक्षणबाट प्रमाणित गर्न खोजेको देखिएको छ। यसअघिको हाइड्रोजन मिश्रित परीक्षण पनि यसैको उपजका रुपमा धेरैले अड्कल गरेका थिए। अहिले पनि ऊ आफैँले आफू अब आणविक शक्ति सम्पन्न राष्ट्र भएको घोषणा सगर्व गरेको छ। बुधबारको परीक्षणपछि उत्तर कोरियाली नेता किमले भनेका छन्, 'हामी अब आणविक शक्ति सम्पन्न राष्ट्र भएका छौं, हामी अब पूर्ण रुपमा रक्षात्मक अवस्थामा रहन सक्ने भएका छौं।'
करिब साढे दुई महिनाअघिको उक्त शक्तिशाली परीक्षणले अमेरिकासँगको मोलमोलाई मात्र नभएर विश्वका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले आफूलाई उत्तिकै ब्यवहार गरुन्, वार्तामा बोलाउन् र आफूले कुनै शर्त राखेर यो अश्त्रको होडलाई गाह्रोगरी स्थगित गर्ने वचन दिनसकुँ भन्ने भित्री ध्येय उत्तर कोरियाली नेता किमको रहेको विश्लेषण गरेका थिए।
दक्षिण र उत्तर कोरिया सन् १९५३ को युद्धपछि टुक्रिएका हुन्। त्यसयता उनीहरुबीच सत्रुता बढ्दो छ। दक्षिण कोरिया अमेरिकासँग नजिक छ। एकीकरणको आवाज बेला-बेलामा आउँछ तर निकै मधुरो छ। त्यो पनि उत्तरका शर्तले गर्दा दक्षिणको आवाजै दबिने गर्छ। जुन उत्तरलाई मन परेको छैन। अब आवाजले भन्दा पनि हतियारले चर्को बोल्ने प्रयत्न उसको हुनसक्छ।
अहिलेसम्मका सबै परीक्षणमध्ये पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विज्ञहरुले बताएका छन्। उत्तर कोरियाले गरेको दाबी अनुसार क्षेप्यास्त्रले अमेरिकी महादेशसम्म मार हान्नसक्ने क्षमताको छ। उक्त क्षेप्यास्त्र ५ हजार ४ सय ७५ मिटरको उचाइसम्म पुगेको थियो। यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९ सय ५० किलोमिटर टाढासम्म पुगेको थियो। यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भू–भागको माथिबाट भने नगएको बताइएको छ। तर, यो जापानी समुद्रमा खसेको थियो। यसअघि उसले हानेको क्षेप्यास्त्र भने जापानको आकासबाटै उडेको र समुद्रमा खसेको थियो।

उत्तर कोरियाले यसै वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा तनाव बढिरहँदा यो अर्को क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले विश्व राजनीतिमा तनाव थपिदिएको छ।
सो परीक्षणस्थलको निरीक्षणपछि उत्तर कोरियाली नेता किमले भनेका छन्, 'आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भू–भागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि, हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ। यसले हाम्रो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्ध बचाउन सक्नेछ।'
आखिर उत्तर कोरिया के चाहन्छ त? किन यसरी विश्व समुदायको आग्रह र निन्दाकाबीच पनि क्षेप्यास्त्र परीक्षण गरिरहन्छ? विश्लेषकहरु भन्छन्, 'उत्तर कोरिया विश्व समुदायमा बलियो उपस्थिति चाहन्छ। यस्तो उपस्थितिको स्थान उसले अरु हिसाबले बनाउन नसकेपछि हतियारको सहारा लिएको हो।' तर, हतियारकै भाषा भए पनि अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्ने तर्क धेरैको छ। हतियारले नै संवाद गरिदिँदा यसले अर्को युद्धको खतरा जन्माउन सक्ने विश्लेषकहरु बताउँछन्। त्यसैले उनीहरु यसको समाधानका लागि कूटनीतिक संवाद आवश्यक ठान्दछन्।
त्यसो त उत्तरको पछिल्लो परीक्षणपछि संसारको कुनै पनि देश उसको पक्षमा छैन, देखिँदैन। यो हतियारको दम्भ नै हो र यसलाई कुनै न कुनै रुपले कानुनी दायरामा ल्याउनुपर्ने संसारले भनेको छ। तर, ती सबै भनाइ यसअघिका परीक्षणहरुमा जस्तै परम्परागत रुपमा मात्र आएका छन्। उही नाकाबन्दी, उही संयुक्त राष्ट्रसंघको निन्दा र तिनै छिमेकीको आक्रोस। तर, यतिले मात्र अबको समस्या समाधान गर्न नसक्ने धेरैको अनुमान छ। त्यसैले सश्त्रास्त्रको होड रोक्न नै विश्व एक हुनु जरुरी छ।
उत्तर कोरियाले एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको घटनाले विश्वमा हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वव्यापीरुपमा बढाएको विज्ञहरु बताउँछन्। केही समयअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए।
अमेरिका उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई निस्तेज पार्न चीनले प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ। यद्यपि, चीनले यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन। चीनले उत्तर कोरियासँग शान्ति वार्ता गरी यसैका माध्यमबाट आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ। चीनले सधैं उत्तर कोरियासँग वार्ता गरी समस्या समाधान गर्नुपर्ने जोड दिँदै आएको छ।
आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय बढ्दै गएको टिप्पणी गर्न थालिएको छ। विश्लेषकले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन्। हतियारको यो बढ्दो मोहलाई मत्थर पार्न विश्वका शक्ति राष्टहरुले नै ठोस पहल थाल्नुपर्ने बेला आइसकेको छ। यसको भरपर्दो विकल्प वार्ता नै हुनसक्छ। उत्तर कोरियासँग रुस वा चीनले गर्ने वार्ता अरुको तुलनामा बढी प्रभावकारी हुनसक्छ। त्यसैले उनीहरुले यो अवस्थामा मध्यस्थकर्ताका रुपमा शान्तिवार्ताको प्रक्रियालाई अघि सारेर अमेरिकासँग पनि सन्तुलन कायम गर्न सके भने यसले संसारलाई हित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।