काठमाडौं- नेपालमै बनेको पहिलो नेपाली फिल्म ‘आमा’को नामबाट पुनः तेस्रो फिल्मको औपचारिक निर्माण घोषणा भएको छ।
काठमाडौंमा पत्रकार सम्मेलनकासाथ फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्ममा दिपेन्द्र के खनालकै लेखन, निर्देशन तथा छायांकन रहनेछ। २०२० साल र २०५१ सालमा २ दुई पटक ‘आमा’ फिल्म निर्माण भइसके पनि पुनः २५ वर्षपछि खनालले साेही नाममा फिल्म निर्माण गर्ने भएका हुन्।
निर्माण युनिटका अनुसार फिल्म आउँदो असारबाट छायांकनका लागि फ्लोरमा जानेछ। आमा र छोरी बीचको सम्बन्धको कथा रहने फिल्म आउँदो फागुन ९ गते प्रदर्शनमा ल्याउने तयारी निर्माण युनिटको छ।
फिल्ममा सूर्यमाला खनाल आमाको भूमिकामा देखिने छिन् भने छोरीको भूमिकामा सुरक्षा पन्त रहनेछिन्। यससँगै फिल्ममा कलाकारहरु दशेभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतको अभिनय रहनेछ।
केही वर्षअघि फिल्म ‘पशुपति प्रसाद’ निर्देशन गरेका दिपेन्द्रले दर्शकको मन र मस्तिस्कमा रहने गरी फिल्म ‘आमा’ बनाउन लागि परेको बताए। उनले भने, ‘जसरी पशुपति प्रसाद पछि दर्शकहरुले मनमा बस्न योग्य फिल्म बनेन भनेर गुनासो गर्दै आउनु भएको छ, त्यो ‘आमा’ले पुरा गर्नेछ।'
शर्मिला पाण्डेयको लगानी रहने फिल्मलाई काठमाडाैं र रामेछापलगायतका स्थानमा छायांकन गरिने निर्माण युनिटले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।