काठमाडौं- निर्माता सन्तोष सेनको निर्माणमा बन्न लागेको फिल्म 'प्रेम गीत-३' ले नयाँ नायिकाको खोजी सुरु गरेको छ।
‘प्रेम गीत’ र ‘प्रेम गीत-२’ मा क्रमश अभिनेत्री पुजा शर्मा र र अश्लेषा ठकुरीको अभिनय रहेको थियो। तर, निर्माता सेनले 'प्रेम गीत-३' मा भने उनीहरुलाई नदोहोर्याई नयाँ अनुहारको खोजी गरिरहेको बताएका छन्।
२०७६ को अन्तिम साता अर्थात् चैत्र २८ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्मले मुख्य अभिनेत्रीका लागि खुल्ला अडिसनको आह्वान गरेको छ। जसमा इच्छुकहरुले संसारभरबाट अडिसन दिनसक्ने व्यवस्था मिलाइएको निर्माता सेनको भनाइ छ।
निर्माता सेन स्वयम् र छेतेन गुरुङकाे संयुक्त निर्देशन रहने फिल्ममा मुख्य अभिनेत्री बन्न चाहनेले ‘आसुसेन फिल्मस्’को अफिसियल वेब साइटमा गएर फारम भर्न सक्नेछन्। यससँगै आशुसेन फिल्मस्काे इमेल ठेगानामा पनि इच्छुकहरुले आवेदन दिन सक्नेछन्।
आवेदनपछि २० जना फाइनल अडिसनका लागि छानिने र एक विशेष कार्यक्रमको आयोजनाकासाथ २० मध्ये १ जना छनोट गरिने निर्माता सेनले बताए।
स्क्रिप्ट तथा कलाकार चयनको काम भइरहेको बताउँदै निर्माता सेनले सबै कलाकार फाइनल भएपछि फिल्मको औपचारिक घोषणा गरिने जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।