काठमाडौं– नेपाली महाकाव्यको इतिहासमा १३ कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ राजधानीस्थित राष्ट्रिय नाचघरमा लोकार्पण गरिएको छ। प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीले महाकाव्यको लोकार्पण गरेका थिए।
महाकाव्य ‘आरोहण’का लेखकहरुमा क्रमशः प्रा गोपीकृष्ण शर्मा, प्रा राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, डा जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, डा रामप्रसाद ज्ञवाली, डा लेखप्रसाद निरौला, डा देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी छन्।
महाकाव्यबारे बोल्दै वासुदेव त्रिपाठीले भने, ‘महाकाव्यजस्तो गहन विधा लेखनलाई जनभावना र नेपालीको साझा संवेदनाजस्तो विषयलाई ऐतिहासिक महत्व बोकेको गोर्खा जिल्ला, त्यसको भौगोलिक र ऐतिहासिक महत्वलाई काव्यको कथावस्तु बनाइनु कम प्रशंसनीय कुरा होइन। विश्वबाट छन्द लेखन नै हटिसकेको समयमा यसको गीत्यात्मक लयात्मक महत्ता नेपालले बुझेको छ र यी १३ जना कविले छन्दको फूलबारीजस्तै बनाएर यो काव्य सिर्जना गर्नुभएकोमा बधाई दिन्छु।’
पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै प्रा ठाकुरप्रसाद पराजुलीले भने, ‘यो १३ जनाको संयुक्त अनुष्ठान हो। यसमा प्रायः सबै अलङ्कारको कुशल प्रयोग छ। यो महाकाव्य भाषिक समायोजनका दृष्टिले प्रशंसनीय छ।’
कार्यक्रममा कवि भुवनहरि सिग्देलले आरोहण महाकाव्यको रचनागर्भ र काव्यांशवाचन गरेका थिए। त्यस्तै, प्रा राजेन्द्र सुवेदीले सामूहिक लेखनको औचित्यबारे प्रस्ट पारेका थिए। कार्यक्रममा डा रामप्रसाद ज्ञवाली, नारायणप्रसाद पोखरेल, रमेश शुभेच्छु, डा देवी नेपाल, प्रकाश चापागाईंले काव्यांश वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।