काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन्।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्।
सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कैंयौं भ्रष्टाचारका काण्ड भइरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाए।
'सुशासनमा सहिद मञ्च नै छैन। बालुवाटारै अर्कैले लगिसक्यो। एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो। १२ अर्ब रुपैयाँ बढी तिरेर फोरजी ल्याइएको छ। वाइडबडी कहाँ छ कहाँ छ?', उनले प्रश्न गरे, 'वाइडबडीसँग सम्बन्धित मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो। प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ? न्यायिक फैसला गर्ने अधिकार छ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन। उसले फलानोमा र्निदोष। बालुवाटार जग्गामा र्निदोष। वाइडबडीमा र्निदोष।'
संविधानको मर्मविपरीत राष्ट्रपतिले सम्बोधनका क्रममा पटक-पटक 'मेरो सरकार' भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ति जनाए। संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले 'मेरो सरकार' भनी गरिएको सम्बोधन संविधानविपरीत भएकाले संशाेधन गर्नुपर्ने माग गरे।
उनले भने, 'संविधानमा नै नेपाल सरकारले गर्नेछ/गरिने छ भनेर स्पष्ट लेखिएको छ। अब त्यहाँ मेरो सरकार भन्न मिल्यो कि मिलेन? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ। कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ। कुनै कविले निबन्ध लेख्यो भने मिल्छ। तर, संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले, संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ? यो संवैधानिक रुपमा घोर आपत्तिजनक छ। मेराे यसमा आपत्ति छ र संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु।'
सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि गर्ने गरिएको संबाेधन गर्दा पृथक ढंगबाट राष्ट्रपतिको सम्बोधन भएको भन्दै नीति तथा कार्यक्रममा आफूहरुले दर्ता गराएको संशाेधन प्रस्तावलाई स्वीकार गरी सच्याएर अघि बढ्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।