काठमाडाैं- राप्ती नगरपालिकाका ७ पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवर्द्धनको काम सुरु गरिएको छ। नगरभित्र 'राप्ती ७ परिपथ'को नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लागिएको हो।
नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ। त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ।
जिल्लाका विभिन्न क्षेत्र अवलोकन गर्न सो स्थल प्रभावकारी हुनेछ। सोही ठाउँबाट पैदलयात्रा गर्दै पुगिने अनेमङ भन्ने ठाउँमा विशाल बौद्ध बिहार बनाइँदैछ। लामाले सो ठाउँ बुद्ध धर्मावलम्बीको आस्थाको धरोहरको केन्द्र बनाइने बताए। अनेमङकाे उत्तरतर्फकाे स्थानबाट चितवनसहित छिमेकी सबै जिल्ला सहजै अवलोकन गर्न सकिन्छ।
मन्दिरसम्म जानका लागि ५ सय मिटर सिँढी बनाउने र रात बिताउनका लागि संरचना निर्माण गर्ने तयारी गरिएको छ। यसको नजिकै नोकु गुफा रहेको भन्दै उनले सो गुफाको सबै क्षेत्र अवलोकन गर्न दिनभर लाग्ने बताए। गुफालाई व्यवस्थित गरेर पर्यटकीय संरचना निर्माण गरिने लामाको भनाइ छ।
राप्ती नगरपालिका–४ भवानीपुरमा पर्या–पर्यटन प्रवर्द्धनका लागि काम थालिने भएको छ। सोही क्षेत्र नजिकै नागदह र नागको मूर्ति तथा जातीय सङ्ग्रहालय र उद्यान निर्माण गरिने भएको छ।
वडा नम्बर ९ मा बाह्रै महिना गुलाफ फूल फुल्ने गर्दछ। वनको बीचमा रहेको सो रमणीय क्षेत्रमा पानीका तालतलैया पनि रहेका छन्। ७ वटै स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ। हालसम्म ४ ठाउँको प्रतिवेदन तयार भइसकेको भन्दै उनले सबै काम सम्पन्न गर्न करीब २ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको सुनाए।
नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकार मिलेर राप्तीमा ७ परिपथ निर्माण गर्न सकेमा देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाइएको छ। राप्तीको ७ परिपथलाई सौराहा, लुम्बिनी, काठमाडौं र पोखरासँग जोड्न सकिने उनकाे विश्वास छ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले राप्तीमा पर्यटन प्रवर्द्धन गर्न सकिएमा यहाँ आउने पर्यटकको सङ्ख्या थपिने र बसाइ लम्ब्याउन सकिने बताए। वन र वन्यजन्तुमा आश्रित यहाँको पर्यटन क्षेत्रलाई विस्तार गर्न जरुरी रहेको सरोकारवाला बताउँछन्।
पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले राप्तीमा 'सेभेन सर्किट' निर्माण गर्नसकेमा पर्यटकलाई नयाँ गन्तव्य दिन सकिने मत राखे। प्रचुर सम्भावना रहेर पनि राप्ती ओझेलमा परेको भन्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान राप्तीको पर्यटन प्रवर्द्धनमा जानुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।