काठमाडौं- धनुषाको ढल्केवरमा सोमबार साँझ अपहरणमा परेका एक बालकको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट सोमबार साढे २ वर्षका बालक बेपत्ता भएका थिए।
सोमबार साझँ शम्भु साहका साढे २ वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। उनै बेपत्ता आर्यनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ। शवको प्रकृति निकै दर्दनाक देखिन्छ। आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ। 'हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौं', प्रहरी निरीक्षक राईले नेपाल लाइभसँग भने, 'घटनाकाे पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ।'
आर्यन सोमबार साँझ हरियो रंगको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए। त्यही बीचमै आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी सुरु गरेका थिए। पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केबरलाई समेत दिइएकाे थियो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए। तर, पनि बालक फेला परेका थिएनन्। खेतबारी तिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएकाे तर पत्ता नलागेको राईकाे भनाइ छ।
यसबीचमा मंगलबार भने साेमबार राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनकाे घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए।
बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। अपहरणपश्चात् हत्या किन र कसले गर्यो भन्ने केही खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।