काठमाडौं- नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतका 'कान्छा' न्यायाधीश मनोजकुमार शर्माविरुद्ध आफैं रिट लिएर सर्वोच्चमै पुगेका छन्।
थापाले करिब १५ दिनअघि पेस गरेको निवेदन सोमबार मात्र सर्वोच्च प्रशासनले दर्ता गर्ने निर्णय गरेको हो। बैशाख पहिलो साता सर्वोच्चमा शर्मासहित ५ न्यायाधीश नियुक्त भएका थिए। नियुक्तीलगत्तै थापाले इजलास बहिस्कार गर्दै विरोध जनाएका थिए।
सर्वोच्चको न्यायाधीश हुन शर्माको योग्यता नपुग्ने भन्दै थापाले केही समयअघि दिएको रिट सोमबार दर्ता भएको सर्वोच्च प्रशासनले बताएको छ।
यो रिटमाथि सर्वोच्चले मंगलबार पहिलो सुनुवाइको पेसी तोकेको उनले बताए।
शर्मालाई नियुक्ति सिफारिस गर्ने न्यायपरिषदलाई पनि थापाले विपक्षी बनाएका छन्। शर्माले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुग्ने गरी निरन्तर वकालत/बहस नगरेको, तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको ५ वर्षे अनुभव पनि उनीसँग नभएको थापाको तर्क छ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ। उच्च (साविक पुनरावेदन) अदालतको न्यायाधीश भएको कम्तीमा ५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ।
शर्मा यसअघि २ वर्षसम्म पुनरावेदन अदालतको न्यायाधीश भएका थिए। नयाँ संविधानले अतिरिक्त न्यायाधीशको व्यवस्था हटाएपछि उनी पदमुक्त भएका थिए। उनीसँगै २८ जना न्यायाधीश त्यतिखेर पदमुक्त भएका थिए।
न्यायपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको जोडबलमा शर्मा सर्वोच्चमै नियुक्ति भएका हुन्।
राणाले शर्माको बचाउमा सार्वजनिक रूपमै ‘हिरा’ टिपेर ल्याएको भन्दै अभिव्यक्ति दिएका थिए।
राणालाई पूर्वप्रधानन्यायाधीश दामोदर शर्माले तत्कालीन पुनरावेदनबाट सर्वोच्च ल्याएका थिए। त्यसैको गुन तिर्न आफू प्रधानन्यायाधीश भएपछि राणाले शर्माका भतिजा मनोजलाई सर्वोच्चको न्यायाधीश बनाएको भन्दै यो नियुक्तिको चर्को आलोचना भएको थियो।
थापा उनीविरुद्ध संसदीय सुनुवाई समितिमा समेत पुगेका थिए। तर उक्त समितिले शर्मालाई फिर्ता हुन सुझाव दिएपनि अनुमोदन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।