फाइल तस्बिर
काठमाडौं– पूर्व सभामुख तथा नेपाली कांग्रेसका नेता दमनाथ ढुंगानाले संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकतालाई ऐतिहासिक भनेका छन्। एकता घोषणा सभामा शुभकामना दिने क्रममा दुई पार्टीको एकता नभइ राष्ट्रिय एकीकरणको दिन भएको बताए।
राष्ट्रले चाहेको पार्टीको अभाव रहेको बताउँदै यसले त्यसको पूर्ति गर्ने विश्वास व्यक्त गरे। उनले भने, 'आज पार्टी एकता मात्रै हुँदै छैन । मलाई लाग्छ– आज हामी इतिहास निर्माण गर्दैछौं।' राष्ट्रिय आवश्यकता बदलिएकाले एकता गरेर छलाङ मारेको बताए।
जनआन्दोलनको भावना बुझ्ने पार्टी जरुरी रहेकाले समाजवादी पार्टी नेपालले त्यो पूरा गर्ने अपेक्षा व्यक्त गरे। उनले भने, 'राजनीतिक परिवर्तन अनुरुप कार्यान्वयन गर्ने पार्टी आउँछ कि आउँदैन भन्ने थियो । आज त्यो आउन लागेको देखिएको छ। यसले राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने सम्भावना देखिरहेको छु।'
अहिले राजनीतिक पार्टीहरुमा संगठन र विचारको नभइ आचरणको अभाव देखिएको उनलेब ताए। राष्ट्र दोहनका लागि राजनीति गर्ने प्रचलन बढेको उनको आरोप थियो।
अबका दिन देशभक्तका रहेको बताउँदै सही मानेमा समावेशी चरित्र नेता उपेन्द्र यादवको रहेको बताए। उनले यादवलाई संघीय संरचना कार्यान्वयनको हिरोको संज्ञा दिए। उनले भने, 'उपेन्द्र यादवले मधेश आन्दोलनको सुत्रपात गरेका हुन्। संघीयता युद्धकालमा बाबुरामजीले पनि वकालत गर्नुभयो होला । तर, धोका भइसकेको थियो । त्यसलाई प्राप्तिमा बदल्न हिरो उपेन्द्र यादव हुन्।'
अरु पार्टीमा देशभक्त, जनताको सेवा गर्ने तर नेतृत्वबाट पछि पारिएका नेताहरु यस्तै पार्टिको खोजीमा रहेकाले ढोका खुला राख्न सुझाए।
संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उम्मेद्वार रहेका ढुंगाना नेकपाका महेश बस्नेतसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।