धनगढी- धनगढी विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरोन्नतिका लागि आइतबारदेखि एक महिनाका लागि हवाई उडान बन्द गरिएको छ।
धनगढी विमानस्थल कार्यालयले एयरपोर्टको धावनमार्गमा समस्या देखिएकाले स्तरोन्नति रहेकोले भन्दै मर्मतका लागि काम सुरु गरपछि विमानस्थल एक महिनाका लागि बन्द भएको हो।
दैनिक ४ देखि ५ वटा उडान हुँदै आएको धनगढी एयरपोर्टको एक महिनाको बन्द अवधिमा बीचभागको आठ सय मिटर धावनमार्ग मर्मत र स्तरोन्नति गरिने धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुडथापाले बताए।
उनले जेठ २१ गते मात्रै धनगढी विमानस्थलमा जहाज उडान र अवरतण हुने बताए।
त्रिभुवन विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत तथा स्तरोन्नती र पार्किङ क्षेत्र विस्तार गर्ने काम भइरहेको छ। करिब २२ करोड रुपैयाँ लगानी गरेर धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य भइरहेको प्रमुख बुढथापाले बताए।
विमानस्थलको स्तरोन्नति गर्न लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंसँग १७ करोड ८८ लाखमा एक वर्षका लागि ठेक्का सम्झौता भएको छ।
निर्माण कम्पनीले आइतबारदेखि रनवेको मर्मत सुरू शुरु गरेको छ। ६० मिटर चौडाई र एक हजार आठ सय मिटर लम्बाईको कालोपत्रे रनवे रहेको धनगढी विमानस्थलको दुबैतर्फ २ र २ मिटर फराकिलो बनाइने छ।
विमानस्थल कार्यालयका प्रमुख बुढथापाका अनुसार कम्पनीले असार मसान्तभित्रै काम सक्ने गरी ठेक्का पाएको छ। पूर्व तयारीको काम कम्पनीले पहिले नै गरिसकेको छ। रनवेको बाँकी एक हजार मिटर लम्बाई र पार्किङ विस्तारको काम भने विमानस्थल शुचारु रहँदा पनि गरिने छ।
१० वर्षमा रनवेको स्तरोन्नति अनिवार्य रूपमा गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि मर्मत र स्तरोन्नती गरिएको थिएन। विमानस्थलमा तीन वटा जहाजको मात्रै पार्किङको व्यवस्था छ भने पार्किङ विस्तारपछि चार वटा जहाज पार्किङ गर्न सकिने छ।
विमानस्थलमा दमकलको सुविधा, एप्रोच लाइट र अन्य लाइट, सञ्चार उपकरण लगायतका सेवा थप्ने र विस्तारको काम समेत भइरहेको प्रमुख बुढथापाले बताए।
धनगढी विमानस्थलमा बुद्ध एयरको दैनिक दुई, श्री एयरको दैनिक दुई, नेपाल एयरलाइन्सको हप्तामा तीन दिन एक/एक उडान हुँदै आएको छ।
मर्मत र स्तरोन्नतिका लागि विमानस्थल एक महिनासम्मका लागि बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन्। एक महिनाको अवधिमा यात्रुहरुलाई प्लेन चढ्न नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हुन्छ भने विमानस्थललाई समेत मासिक करिब २६ लाखको आर्थिक घाटा हुने प्रमुख बुढथापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।