विराटनगर- प्रदेश १ को नामाकरणका लागि संसद अधिवेशन चल्ने तयारी भइरहँदा लिम्बूवान स्प्रिङ आन्दोलनकर्मी अनसन बसेका छन्।
नाम र स्थायी राजधानीको विषयमा प्रदेशसभाले टुंगो लगाउन नसकिरहेका बेला लिम्बूवान अभियन्ताहरू अनसन बसेका हुन्।
आइतबार प्रदेशसभा भवन अगाडि अभियानकारी युवा अनसन बसेको संयोजक इक्साहाङ चेम्जोङले बताए।
‘प्रदेशको नामाकरण गर्दा लिम्बूवान उल्लेख हुनुपर्छ भन्ने अभिप्रायले अनसन थालेका हौँ। लामो समयदेखि चलिरहेको लिम्बूवानको आन्दोलनलाई सम्बोधन गराउन हामी शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहनेछौँ,’ उनले भने।
अनशनलाई बेवास्ता गरेर प्रदेशको नामाकरणमा लिम्बूवान बाहेकका नाम पारित गरिए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेम्जोङले बताए।
४८ घण्टे अनसन बस्नेहरूमा चेम्जोङसहित समी लङ्वा, सौजन सुब्बा, सुनिल आङ्बो, पन्ना आङ्बो, अशोक सेर्मा, सुमन सहयात्री योङहाङ, सुन्दर लाओती, अंशुवर्मा लिम्बु, प्रयास बान्तवा, कौशिला नेम्वाङ र विजय लिङ्देन छन्।
गत बिहीबार बस्ने भनिएकोे प्रदेश सभाको ३४औं बैठक आइतबारसम्मका लागि सूचना जारी स्थगन गरेको थियो।
प्रदेश १ को नामका लागि लिम्बूवान, कोशी, सगरमाथा, किरातलगायतका नाम चर्चामा छन्।
विभिन्न पार्टी, संगठन र स्वतन्त्र पेसामा आबद्ध रहेका युवाहरूले गत फागुन २६ गते सामाजिक सञ्जालमार्फत सङ्गठित भएको जनाउँदै लिम्बूवान स्प्रिङ आन्दोलन घोषणा गरेका थिए।
घोषणा भएको केही घण्टाभित्रै आन्दोलनप्रति उल्लेख्य सङ्ख्यामा समर्थकहरूले ऐक्यबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।