काठमाडौं– दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो।
अधिकारी पुत्री लिमाले शनिबार परेको आमाको मुख हेर्ने दिनको अवसर पारेर वृद्धाहरूलाई उपहारसमेत प्रदान गरिएको जानकारी दिइन्।
स्वर्गीय भरतमोहनको जन्मदिनको अवसर पारेर मनमोहन स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो।
महोत्तरीको भ्रमरपुरामा १९९३ साल बैसाख २२ गते जन्मिएका अधिकारीको गत १८ फागुनमा ८२ वर्षको उमेरमा निधन भएको थियो।
लामो समय नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका अधिकारीले अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ र वृद्धावृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवातजस्ता कार्यक्रमका कारण लोकप्रिय थिए।
कार्यक्रममा ईश्वरीलाल फाउण्डेशन र स्टार हस्पिटलको समेत सहकार्य थियो। कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।