काठमाडौं- उच्च अदालत विराटनगरले विराटनगर भन्सार कार्यालय सुख्खा बन्दरगाहाभित्र रहेको वाणिज्य बैंकको शाखामार्फत १० करोड भन्सार राजश्व अपचलन गर्ने ३ जनालाई दोषी ठहर गरेको छ। उनीहरुलाई जरिवाना र कैद हुने फैसला उच्चले सुनाएको छ।
गत बिहिबार उच्च अदालतले बैंकिङ कसुर मुद्दामा मुख्य आरोपी भन्सारका एजेन्ट सुरेश बोहोरा र दुई कर्मचारीलाई दोषी ठहर गरेको हो।
आपसी मिलेमतोमा बैंकमा राजश्व दाखिला नगरी अपचलन गरेको सार्वजनिक भएपछि मोरङ प्रहरीले अनुसन्धान गरी बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको थियो।
विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा, उनका भाई ललित बोहोरा र कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई उच्च अदालत विराटनगरले दोषी ठहर गरेको हो।
कार्यबाहक मुख्य न्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले एजेन्ट बोहोरासहित तीन जनालाई दोषी ठहर गरेको हो।
उच्चले उनलाई डेढ महिना कैदसहित ४ करोड ८० लाख ७७ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
उच्चले कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसादलाई २२ दिन कैदसहित जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
सोही मुद्दामा उच्चले पहिले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो।
एजेन्ट बोहोरा र उनका प्रतिनिधिले बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्ट र एकाउन्ट पेयी बाउन्स चेक दिएर विराटनगर भन्सारको राजश्व अपचलन गरेका थिए।
एजेन्ट सुरेशले विराटनगर भन्सारस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको १० करोड बराबरको राजश्व अपचलन कार्यमा एजेन्ट बोहोरा र उनका प्रतिनिधिले ‘सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ सर्भिस कम्पनी’ मार्फत सिटिजन, नेपाल बंगलादेश, नबिल, एभरेस्ट, एसबिआई र सिद्धार्थ बैंकका एकाउन्ट पेयी चेक प्रयोग गरेर रकम निकालेका थिए।
वाणिज्य बैंक शाखाको भन्सार राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने नगद जम्मा भएको थिएन।
प्रहरीको अनुसन्धान अनुसार एजेन्ट सुरेशले ९ पुसदेखि १० माघ २०७४ सम्म ४६ वटा कम्पनीको १८ लाख ४० करोड ४४ हजार ७ सय ६५ रुपैयाँको भन्सार राजश्वका लागि बैँक कारोवार गरेका थिए। जसमा विभिन्न ६ वटा बैँकको ८ वटा एकाउन्ट पेयी चेक वाउन्स भएको थियो। जसबाट ९ करोड ६१ लख ५५ हजार रुपैयाँ राजश्व अपचलन भएको थियो।
बैकिङ कसुरको फौजदारी अभियोग लागेपछि उनीहरूलाई भन्सारले निलम्बन गरेको थियो। एजेन्ट बोहोरा दोषी ठहर भएकाले भन्सार जाँचपास गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।