काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आईतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एकहप्ते अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन्।
विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।
उनले एक हप्ता भित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिनु भयो। त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ।
यता, निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताएका थिए।
उनले विगतमा गरिएका सहमति हेर्ने र विद्यार्थीहरुको सोसम्बन्धि माग सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दुवै विद्यार्थी संगठनका नेतालाई दिएका थिए।
नेपाल आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैँयाका दरले मूल्यवृद्धि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।