काठमाडाैं- राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिइँदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका छन्।
आइतबार आयोगको ११औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति पनि जनाए। प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे।
आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो। काठमाडौंको बाघबजारबाट निकालिएको प्रभातफेरी पुतलीसडक, अनामनगर हुँदै बानेश्वरको देवीनगरस्थित आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो। प्रभाफेरीमा ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’, ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’लगायत लेखिएको 'प्लेकार्ड' पनि प्रदर्शन गरिएको थियो।
सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैसाख २२ गते अर्थात आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो। आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए। विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।