फिदिम- पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ९० दशमलब ०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण सुरु गरिएको छ।
मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो। ४२ दशमलब ८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १ सय २६ टावर छन्।
कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ। 'एउटा टावर गाढ्न बाँकी छ', आयोजना प्रमुख द्विवेदीले भने।
आयोजनाको निर्माणकार्य २०६६/६७ मा सुरु भएको थियो। पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौंसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ।
यस्तै टावरका लागि आवश्यक पर्ने १ दशमलब ५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो।
सो कोरिडोरअन्तर्गत ४ सबस्टेसन झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा निर्माण गरिएका छन्। २५ करोड रुपैयाँ लगायतले दमक सबस्टेसन सुरुमै निर्माण सम्पन्न भएको थियो।
बाँकी ३ सबस्टेसन निर्माणको लागत ५५ करोड रुपैयाँ थियो। तीन वटै सबस्टेसन २ वर्षअघि निर्माण सम्पन्न भइसकेका छन्। सबै सबस्टेसन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।