जलेश्वर- भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ सीमानाका आज बिहानदेखि बन्द गरिएको छ।
भारतको बिहार राज्यको विभिन्न लोकसभा सीटमा साेमबार हुने निर्वाचनलाई ध्यानमा राख्दै आज बिहान ५ बजेदेखि भोलि साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका 'सिल' गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
भारतको बिहार राज्यको सीतामढी मधुवनी जिल्लासँग सीमा जोडिएको महोत्तरीको ११ वटै नाका 'सिल' गरिएको छ।
अहिले सीमानाकामा नेपाल–भारत दुबैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ। सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।