काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ। एकीकृत पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल' रहने छ।
'विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी, नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ', आज दुवै पार्टीको शीर्ष नेताको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विज्ञप्तिमा जनाइएको छ।
दुवै पार्टीबीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्ने सहमति बनेको छ।
नयाँ शक्तिले अन्तिमसम्म राख्दै आएको सरकार छाड्ने 'बटमलाइन'का विषयमा भने मध्यमार्गी विकल्प खोजिएको फोरमका एक नेताले बताए।
सहमति अनुसार एकीकृत पार्टीले संविधान संशोधनको लागि केही मागहरु राखी अल्टिमेटम दिने छ। माग पूरा नभएको अवस्थामा पार्टीले सरकार छाड्ने छ।
माग पूरा नहुने विषयमा आफूहरु स्पष्ट भएको ती नेताको दाबी छ। 'सरकार छाड्न पनि केही बाटो त पहिल्याउनु पर्यो नि', उनले भने।
दुई पार्टीबीच भएको सहमति अनुसार एकीकृत पार्टीको डा भट्टराई संघीय परिषद्को अध्यक्ष हुनेछन्। त्यस्तै, यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ।
दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो बरियतामा रहने छन् भने यादव दोस्रोमा रहनेछन्।
अन्तिम सहमतिका लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बसेको थियो।
केही समययता दुई पार्टीबीच छलफल जारी थियो। शुक्रबार राति पनि नयाँ शक्तिको पार्टी कार्यालयमा छलफल चलेको थियो।
सम्बन्धित
बाबुराम र उपेन्द्र क्रमश: संघीय परिषद् र केन्द्रीय समिति अध्यक्ष, बाबुरामले निर्णय उल्ट्याउन सक्ने
फोरम र नयाँ शक्तिबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।