काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।
दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैसाख २३ गते नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले बताए। नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको छ।
अन्तिम सहमतिका लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बसेको थियो।
केही समययता दुई पार्टीबीच छलफल जारी थियो। शुक्रबार राति पनि नयाँ शक्तिको पार्टी कार्यालयमा छलफल चलेको थियो।
दुई पार्टीबीच भएको सहमति अनुसार डा बाबुराम भट्टराई एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष हुनेछन्। त्यस्तै, उपेन्द्र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ।
दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो वरीयतामा रहनेछन् भने यादव दोस्रोमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।