काठमाडाैं- उर्जा र जलविद्युत क्षेत्रलाई आर्थिक समृद्धि र विकासको आधारका रुपमा अर्थ्याउँदै आएको सरकारले त्यस क्षेत्रलाई नीति तथा कार्यक्रममा भने उपेक्षा गरेको छ।
आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्रका विषयवस्तुहरु निकै कममात्र समेटिएका छन्।
३ वर्षमा ३ हजार र ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सरकारले आगामी आर्थिक वर्षका लागि भनेर उर्जा र जलश्रोतको विकास तथा प्रवर्द्धनका लागि न्युन मात्रामा कार्यक्रम सार्वजनिक गरेको हाे। आगामी आर्थिक वर्षको बजेटको आधार मानिएको नीति तथा कार्यक्रममा उर्जा र जलविद्युतसम्बन्धी स्पष्ठ नीति र कार्ययोजनानै देखिँदैन।
अमूर्त रुपमा उर्जा क्षेत्रको विकासका लागि सरकारले काम गर्ने विषय नीति तथा कार्यक्रममा खुलाइए पनि कुन आयोजना कसरी बनाउने र कस्ता आयोजनालाई प्राथमिकतामा राख्ने भन्नेकुरा कहीं-कतै खुलाइएको छैन।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि उर्जा क्षेत्रलाई सरकारले बढी प्राथमिकतामा राखेको भन्ने खालका अनुमान र विश्लेषण गरिए पनि वास्तविकता भने फरक देखिएको हो।
सरकारले हरेक वर्ष बनाउने भन्दै आएको बुढीगण्डकी आयोजना यस वर्षको नीति तथा कार्यक्रममा पनि समेटिएको छ
त्यसैगरी विद्युतीय बस सञ्चालन, चार्जिङ स्टेसन निर्माण लगायतका विषयहरु समेटिए पनि उत्पादन, प्रशारण लाइन विस्तार, उर्जा बजार विस्तारजस्ता विषयमा भने नीति तथा कार्यक्रमले केही खुलाएको छैन। यद्दपि, यो सरकारले उर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै आएको छ।
यी हुन् सरकारको नीति तथा कार्यक्रममा अटाएका उर्जा क्षेत्रका कार्यक्रम:
- बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाइनेछ।
- आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिनेछ।
- भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिनेछ। यस आयोजनाबाट सिँचाइ क्षेत्र विस्तार हुनुका साथै ४६ दशमलब ८ मेगावाट विद्युत केन्द्री प्रशारण लाइनमा जाेडिनेछ।
- आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्याइनेछ।
- 'उज्यालो नेपाल अभियान'अन्तर्गत सबै नेपालीका घर-घरमा बिजुली पुर्याइनेछ।
- निर्माणाधीन विद्युत आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गरिनेछ।
- पानीजहाज, रेल यातायात, सुरुङ प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युत आयोजनालाई आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्न छात्रवृत्तिमा स्वदेश तथा विदेशमा अध्ययन गराइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।