काठमाडौं– नेपाल र ओमानबीच श्रम सम्झौता भएको छ।
बिहीबार र शुक्रबारको निरन्तर छलफलपछि शून्य लागतमा नेपाली कामदार ओमान जान पाउने गरी सम्झौताका बुँदामाथि सहमति जुटेको मन्त्रालयले जानकारी दिएको छ।
सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिकको प्रत्याभूत हुने गरी नेपाली श्रमिकहरू ओमान रोजगारीमा पठाउने गरी श्रम समझदारीका बुँदा तय गरिएको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
सहसचिव घिमिरेको संयोजकत्वमा ओमान टोली र नेपाली टोलीबीच वार्ता भएको हो।
शुक्रबार साँझ श्रम सम्झौताका मस्यौदामाथि टुंगो लागेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। यसअघि पनि गत माघ १२ गते शनिबार मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली ओमानसँग श्रम समझदारीका विषयमा छलफलका लागि ओमान गएको थियो।
सोही समयमा उक्त टोलीले युएईसँग पनि श्रम समझदारीका लागि वार्ता गरेर फर्किएको थियो। युएई र ओमान श्रम सम्झौताका लागि सकारात्मक देखिएको र पुनः सम्झौताका विषयमा थप छलफल गरी टुंगो लगाइने सहसचिव घिमिरेले बताएका थिए।
नेपाल र युएईबीच भने गत बैसाख १२ गते बिहीबार बसेको दुई देशका प्राविधिक टोलीको बैठकले श्रम सम्झौताका विषयमा टुंगो लगाएको छ।
अब श्रम सम्झौतामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षरको मिति मात्रै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
नेपाली कामदारहरूको गन्तव्य मुलुक रहनसक्ने ओमानसँग श्रम सम्झौता गरी कामदारहरू पठाउँदा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी प्रत्याभूत हुने सरकारको विश्वास छ।
सरकारले ओमानसँग पनि मलेसियाकै मोडलमा सम्झौता गर्ने गरी मस्यौदा तय गरेको जनाएको छ।
श्रमिकहरूलाई ओमान जाँदा आर्थिक व्ययभार नपर्ने हिसाबले बुँदा तय गरिएको जनाइएको छ। श्रम सम्झौता एमओयुका बुँदामा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मुख्य एजेन्डाहरू समेटिएको जनाइएको छ। तय भएका मस्यौदा भने सार्वजनिक गरिएको छैन।
मस्यौदा तय गरिएपनि सम्झौता पत्र एमओयुमा हस्ताक्षर मिति भने छलफल पछि मात्रै तय गरिने उल्लेख गरिएको छ। नेपाली कामदारहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएको ओमानसँग नेपालले पहिलो पटक श्रम सम्झौता गर्ने गरेको हो।
यसअघि ओमानसँग कुनै पनि श्रम सम्झौता भएको थिएन। सम्झौता नभए पनि थुप्रै नेपाली कामदार रोजगारको खोजीमा ओमान पुग्ने गरेका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हरेक महिना ५ सय बढी कामदार श्रम स्विकृति लिएर ओमन रोजगारका लागि पुगेका छन्।
गत चैतमा मात्रै ओमन रोजगारका लागि ५ सय ११ जना कामदारहरुले अन्तिम श्रम स्विकृति लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।