काठमाडौं– सरकारले वृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सुरक्षाका विषयमा सरकार गम्भीर भएर काम गरिरहेको जनाइएको हो।
मानव जीवनका विभिन्न चरणमा सामाजिक सुरक्षा भत्ताले समेटेरे लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘मेरो सरकारले सबै उमेरका नेपाली नागरिकको सामाजिक संरक्षणका लागि बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवावस्थामा सिप, उद्यमशीलता र रोजगारी तथा ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइनेछ। योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र उपलब्ध गराइने जनाइएको छ।
सामाजिक सुरक्षा योजनाबाट श्रमिक तथा कर्मचारीहरू औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा,जेष्ठ नागरिक सुरक्षासम्बन्धी सेवाबाट लाभान्वित हुनेछन्।
यस योजनाको दायरा क्रमशः बढाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ।
'विभिन्न निकायहरूबाट प्रदान गरिने सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।