काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ।
बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
संघीय संसद् सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन्।
यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो। तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ। जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ।
नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ। यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्ने छ।
सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा अघिल्लो वर्ष देखिएका त्रुटिहरु सच्याउँदै अधिकांश कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको छ। गत वर्षको भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ।
नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल हुनेछ। संघीय संसद् सचिवालयले बढीमा ३ दिनसम्म यसबारे छलफल चलाउने तयारी गरेको छ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने छ।
कर्मचारीको तलब र बृद्धभत्ता वृद्धिको विषयमा व्यापक चर्चा भइरहेको छ। बृद्धभत्ता वृद्धिले राज्यकोषमा भार थपिने र कर्मचारीको तलब वृद्धिले महँगी बढ्ने भएकाले त्यसमा सरकारले कुन नीति लिन्छ भनी सर्वत्र चासो रहेको छ। बृद्धभत्ता दोब्बर पार्ने प्रधानमन्त्री केपी ओलीको चुनावी भाषणा पूरा भएको छैन।
पुरानै कार्यक्रम निरन्तर हुने
नीति तथा कार्यक्रमले समृद्धिको नारालाई यस पटक पनि समेट्ने छ। ‘सुखी नेपाली समृद्ध नेपाल’ अन्तर्गत नीति तथा कार्यक्रमले यस वर्ष निरन्तरता पाउने छ। भूकम्पपछि पुनर्निर्माण, पूर्वाधार विकास र रोजगारीको क्षेत्रहरुको खोजी यस वर्षपछि प्रमुख कार्यक्रम र लक्ष्य हुने देखिन्छ। जलविद्युत्त् र कृषिमा लगानी तथा प्रतिव्यक्ति आय वृद्धि गर्ने लक्ष्य यस पटक पनि रहेन देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।