काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालीपन झल्काउने गरी डिजाइन गर्न सांसदहरुले सुझाएका छन्। संसदको दिगो विकास तथा सुशासन समितिले गरेको स्थलगत भ्रमणपछि उक्त निष्कर्ष निकालिएको हो।
समितिले स्थलगत भ्रमणपछि यी दुई विमानस्थलका विषयमा बनाएको प्रतिवेदनको निष्कर्ष र सुझावमा भनिएको छ, ‘विमानस्थल निर्माणको डिजाइनमा नेपालीपन नझल्किएकाले नेपालीपन आउने गरी संरचना बनाउनुपर्नेछ।’
निर्माण कार्यमा आएका समस्यामाहरु मध्ये एक ‘एभिएसन सुरक्षा सम्झौता गर्नुपरेको’ पनि उल्लेख छ। गौतमबुद्ध विमानस्थलका हकमा यस्तो देखिएको हो।
स्थानीय तहले सम्झौताअनुसार नदीजन्य सामाग्री उपलब्ध नगराएको, स्थानीय कर बढेकाले सामाग्री बढी मूल्यमा किन्नुपर्ने, धावनमार्ग पुर्न माटो धेरै चाहिने भएकाले अर्को प्रदेशबाट ल्याउन समस्या रहेको लगायत औंल्याइएको छ।
समितिकी सभापति तारादेवी भट्टको नेतृत्वमा सांसदहरु कालीबहादुर मल्ल, खिम कुमार बिक, डा विमला राई, सरिता प्रसाईं, समिति सचिव मुरारी महत, उपसचिव विमलराज जोशी र शाखा अधिकृत सबिना चालिसे उक्त अवलोकनमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।