काठमाडौं- जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमताको सान्जेन जलविद्युत आयोजनाले सर्वसाधारणमा जारी गरेको साधारण सेयर (आइपिओ) बाँडफाँट गरेको छ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिहिबार सेयर बाँडफाँट गरिएको हो।
रसुवागढी जलविद्युत आयोजनामा १० देखि ४० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले मागबमोजिमको शेयर पाएका छन्। ४० कित्ताभन्दा बढी शेयरका आवेदन लगानीकर्ताका लागि भने गोलाप्रथाका आधारमा २५ हजार ६ सय ९३ जना आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँट गरिएको छ।
त्यसैगरी साञ्जेन जलजिद्युत आयोजनामा आवेदन दिएका सबै लगानीकर्ताले न्युनतम १० कित्ता सेयर पाएका छन्। १० देखि २ हजार कित्तासम्म सेयर खरीदका लागि आवेदन दिएका आवेदक सबैलाई १० कित्ता परेको हो।
बाँकी रहेको सेयर २० कित्ताभन्दा बढीको आवेदक दिएका व्यक्तिहरुले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्।
यी दुई आयोजनाहरुमा साधारण सेयरको खरिदका लागि गत ६ गतेदेखि १० गतेसम्म समयसीमा तोकिएको थियो। पछि त्यसलाई २ दिन बढाएर १२ गतेसम्म पुर्याइएको थियो।
रसुवागडी जलविद्युत आयोजनाको साधारण सेयर खरिदका लागि २ लाख ९१ हजार २ सय ७२ र सान्जेनको सेयर खरिदका लागि २ लाख ८८ हजार ७ सय ९७ वटा वटा योग्य आवेदन परेको थियो।
सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ फागुण २ गते 'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी' नाराका साथ 'जनताको जलविद्युत कार्यक्रम' घोषणा गरिएको थियो।
कार्यक्रम घोषणा गर्दा १९ वटा आयोजना मात्र राखिएको भएपनि पछि रसुवागडी र साञ्जेनलाई पनि समावेश गरेको थियो।
रसुवा जिल्लामा निर्माण भईरहेको रसुवागडी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवर्द्धकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ।
रसुवा जिल्लामा नै बनिरहेको साञ्जेन जलविद्युत आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गरिरहेको छ। उक्त आयोजनाको हालसम्ममा २४ प्रतिशतले भौतिक प्रगति भई कूल प्रगति ७० प्रतिशत भएको छ। यसअन्तर्गत पूर्वाधार निर्माण शतप्रतिशत, सिभिल निर्माण कार्य ७० प्रतिशत, इलेक्ट्रोमेकानिकल कार्य ५९ प्रतिशत र हाइड्रोमेकानिकल कार्य ५५ प्रतिशत प्रगति भएको छ।
सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।