काठमाडौं– एएफसी कपमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले अंकको खाता खोलेको छ। सुरुवाती २ खेलमा लगातार पराजित मनाङले भारतको आइ लिग च्याम्पियन मिर्नेभा पञ्जावलाई २–२ को बराबरीमा रोकेर अंकको खाता खोलेको हो।
समूह 'ई'को पहिलो खेलमा मनाङलाई ढाका अबहानी र दोस्रो खेलमा भारतको चेन्नइयीनले पराजित गरेको थियो।
बुधबार भुवनेश्वरमा भएको खेल मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। तर अन्तिम मिनेटमा गोल फर्काएर मनाङले हार भने टार्न सफल भयो।
खेलको आठौं मिनेटमा पन्जावले अग्रता लियो। पन्जावका लागि श्रेयस गोपालनले डिबक्सबाट देब्रे खुट्टाले गोल गरे।
मनाङले खेलको ३५ मिनेटमा पेनाल्टी पाएको थियो। पन्जावका खेलाडीले ओलाडिपो ओलावालेलाई फल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। तर प्राप्त अवसरमा मनाङ गोल गर्न सकेन। मनाङका सुजल श्रेष्ठको पेनाल्टी प्रहारलाई पञ्जावका गोलकिपरले बचाए।
६९ मिनेटमा मनाङले बराबरी गोल फर्कायो। कमल श्रेष्ठको क्रसमा अभिषेक रिजालले डिबक्सबाट सुन्दर गोल गरे।

८६ मिनेटमा पञ्जावले दोस्रो पटक अग्रता लियो। करिम ओमालेजाले पेनाल्टीमा गोल गरेका थिए। मनाङका कप्तान विराट महर्जनले मोइनुद्दिन खानलाई पेनाल्टी बक्समा लडाएपछि पञ्जावले पेनाल्टी पाएको थियो।
खेलको अन्तिम मिनेटमा मनाङले दोस्रो पटक खेललाई बराबरीमा ल्याउन सफल भयो। कमल श्रेष्ठको क्रसमा ओलुविम्मी सोमिडेले हेडमार्फत गोल गरेका थिए।
यसअघि समूहको अर्को खेलमा चेन्नइयीनले ढाकालाई १–१ ले हराएको थियो। अंक तालिकामा चेन्नइयीन ७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको ढाकाको ४ अंक छ। पञ्जावको ३ अंक र मनाङको १ अंक छ। पञ्जावले सुरुवाती ३ खेलमै बराबरी खेलेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।