लन्डन- युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा डच क्लब अयाक्सले टोटनह्याममाथि जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा अयाक्सले टोटनह्यामलाई उसैको घरेलु मैदानमा १-० गोलअन्तरले पराजित गरेको हो।
अयाक्सका लागि भान डी बिकले खेलको १५ मिनेटमा गोल गरेका थिए। उनले गाेलपाेस्टकाे नजिकबाट गरेको उत्कृष्ट प्रहारलाई टोटनह्यामका गोलकिपर हुगो लोरिसले रोक्ने कुनै मौका नै पाएनन्।
खेलमा टोटनह्यामका ह्यारी केन र सन हेउन मिन बेन्चमा थिए।
अब दोस्रो लेग आगामी बुधबार अयाक्सको आम्स्टर्डमस्थित घरेलु मैदानमा हुनेछ।
यसअघि अयाक्सले अन्तिम १६ मा रियल म्याड्रिड र क्वार्टरफाइनलमा युभेन्ट्सलाई पाखा लगाएर अन्तिम चारमा स्थान पक्का गरेको थियो।
लिगअन्तर्गत दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।