काठमाडौं– दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ।
महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ। नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौँमा बसेको हो। यसअघि साधारणसभा श्रीलङ्काको कोलम्बोमा बस्ने तय भएको थियो। तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौँमा सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।