जनकपुर– लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचार–प्रसार र व्यवस्थापन गर्न बनेको प्रदेश ५ को टोली जनकपुर आइपुगेको छ।
प्रदेश ५ को टोली आइतबार जनकपुर आइपुगेको हो।
टोलीले जनकपुरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रदेश २ का उद्योग, वन पर्यटक तथा वातावरण मन्त्रालयका सह–सचिव जगदीशप्रसाद गुप्ताले हिन्दूहरुको आस्थाको केन्द्र तथा धार्मिक धरोहर जनकपुरधाम र बौद्ध धर्मावलम्बीहरुको केन्द्रको रुपमा रहेको लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताए।
लुम्बिनी र जनकपुरलाई पर्यटन व्यवसायमा जोड्न सके रोजगारी र व्यवसायका हिसाबले सर्वसाधारणको लागि अति नै लाभ हुने उनले जिकिर गरे। उनले यो क्षेत्रको विकास गर्न सके वर्षेनी आन्तरिक तथा बाहिरी पर्यटक करोडौँको संख्यामा आउने दावी समेत गरे।
यसका लागि प्रदेश २ र प्रदेश ५ सरकारले एकआपसमा गृहकार्य गरी पर्यटन प्रवद्र्धनको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए। उनले अब आउने पर्यटकले जनकपुरदेखि लुम्बिनीसम्मको भ्रमण एकै पटकमा गर्नसक्ने व्यवस्था मिलाउनमा समेत जोड दिए।
अगामी जेठ ४ गते देखि सुरु हुन लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ मा करिब २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रचार–प्रसार समितिका टोपराज शर्माले जानकारी दिए। प्रदेश ५ को लुम्बिनी र प्रदेश २ को जनकपुरको छुट्टा छुट्टै महत्व रहेकाले एकअर्कासँग जोडेर सर्किट बनाउनुपर्ने धारणा उनले राखे।
कार्यक्रममा जानकीनगरी र गौतम बुद्धनगरीलाई पर्यटन प्रवर्द्धन गर्न हातमा हात जोडेर अगाडि बढ्न वक्ताहरुले सुझाव दिएका थिए। यस वर्ष झन्डै १५ लाख पर्यटकलाई आकर्षण गर्न सफल लुम्बिनीमा आगामी वर्ष २५ लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको बताइएको छ।
यस वर्ष मात्रै प्रदेश ५ सरकारले २ करोड २७ लाख बजेट पर्यटन क्षेत्रका लागि छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।