काठमाडौं- वैदेशिक रोजगारीका क्रममा वा करार अवधि भित्रै स्वदेश फर्किएर मृत्यू भएका व्यक्तिका परिवारले पनि आर्थिक सहायता पाउने भएका छन्।
लामो समयदेखि वैदेशिक रोजगार बोर्डको बैठक बस्न नसक्दा रोकिएको आर्थिक सहायता आइतबारबाट खुल्ने भएको हो। आइतबार बोर्डको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेसँगै उनीहरुले सहायता रकम पाउने भएका हुन्।
वैदेशिक रोजगारीका लागि मलेसिया, साउदी, कतार, युएई, बहराइन, ओमनलगायत खाडी मुलुक पुगी बिरामी भई नेपाल फर्किएर मृत्यू भएका वा करार अवधिभित्रै नेपाल फर्किएको बेला विभिन्न कारणबाट ज्यान गुमाएका २ सयभन्दा बढी मृतकका परिवारले आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डले जनाएको छ।
वैदेशिक रोजगारीमा कार्यरत रहेका, करार अवधिमा नै कुनै खतरनाक रोग लागि बिरामी भई स्वदेश फर्किएर ज्यान गुमाएका, वा कार्यस्थलमै दुर्घटनामा घाइते भई नेपाल फर्किएपछि ज्यान गुमाएका ५६ भन्दा बढी परिवारका सदस्यले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिएका थिए।
बोर्डमा करार अवधिभित्रै स्वदेशमा आई दुर्घटनामा पर्ने, मादक पदार्थ सेवन गरी झैझगडाका कारण ज्यान गुमाउने त्यस्तै आत्महत्यालगायत कारणबाट मृत्यू भएका २ सय बढी परिवारले आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने, ‘वैदेशिक रोजगारका क्रममा करार अवधिमा नै कार्यस्थलमा दुर्घटना परी गम्भीर घाइते भई स्वदेश फर्किएर ज्यान गुमाएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्ने भएका छन्। यसैगरी, खतरनाक रोग लागि बिरामी भई करार अवधिमै स्वदेश फर्किएर ज्यान गुमाएका थुप्रै परिवारका सदस्यहरुले आर्थिक सहायताका लागि आवेदन दिएका छन्।’
बोर्डमा यस्ता आवेदन बढ्न थालेपछि मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन आवश्यक रहेको महसुस गरी बार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यसबारे प्रस्ताव अघि सारेको थियो।
बोर्डको बैठक ७ महिना अघिदेखि बस्न नसक्दा थप निर्णय हुन सकेको थिएन।
आइतबार बसेको बोर्डको बैठकले वैदेशिक रोजगारका क्रममा करार अवधि भित्रै नै स्वदेश फर्किइ विभिन्न कारणबाट मृत्यू भएका परिवारका सदस्यलाई आर्थिक सहायत उपलब्ध गराउने निर्णय गरेको हो।
आर्थिक सहायता नियमावली संसोधनको प्रस्ताव
सरकारले वैदेशिक रोजगार नियमावली २०६४ मा करार अवधि भित्रै स्वदेशमा आई मृत्यु भएका परिवारका सदस्यले आर्थिक सहायता पाउने वा नपाउने प्रावधान परिमार्जन गर्न लागेको छ। सो व्यवस्था नै अस्पष्ट भएका कारण संसोधनका लागि प्रस्ताव अघि सारिएको बोर्डका निर्देशक श्रेष्ठले बताए।
आर्थिक सहायता नियमावली २०६४ को दफा २८ मा आर्थिक सहायता उपलब्ध गराइने प्रावधान उल्लेख छ।
जसमा वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधि र करार अवधि समाप्त भएको एक वर्षसम्मको अवधि भित्र कुनै कारणले मृत्यू भएमा मृतक कामदारको नजिकको हकवालाले मृतक कामदारको मृत्यू भएको प्रमाणीत भई नेपालमा शव बुझेको एक वर्षभित्र आर्थिक सहायताका लागि बोर्ड समक्ष निवेदन दिन सक्ने भन्ने उल्लेख छ।
'लामो समयसम्म यस्ता प्रकृतिका आर्थिक सहायता अड्किएकाले तत्काल नियमावली संसोधन गरी मृतक परिवारलाई आर्थिक सहायता उपलब्ध गराउछौं,’श्रेष्ठले भने।
मृतक परिवारलाई आर्थिक सहायता कति?
वैदेशिक रोजगारमा गएको करार अवधिमै स्वदेश फर्किएर मृत्यू हुने कामदारहरुको पनि क्याटागोरी छुट्याइएको बोर्डले जनाएको छ।
–कार्यस्थलमा कार्यरत रहँदा दुर्घटनामा परी घाइते भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यू भएका कामदार
–करार अवधिमा छुट्टीमा नेपाल फर्किएको बेला दुर्घटनामा परी ज्यान गुमाएका कामदार
–खतरनाक रोगका कारण करार अवधिमै नेपाल फर्काइ मृत्यू भएका कामदार
–वैदेशिक रोजगारबाट छुट्टिमा आएका मादक पदार्थ सेवन गरी ज्यान गुमाएका कामदार
–पारिवारिक बेमेल वा झगडाका कारण ज्यान गुमाएका कामदार
–र विदेशबाट फर्किएको समयमा आत्महत्या गरी ज्यान गुमाएका कामदार
फरकफरक प्रकृतिबाट करार अवधिमै स्वदेश फर्किएको समयमा ज्यान गुमाएका कामदारका परिवार वा आफन्तलाई आर्थिक सहायता कति दिने भन्ने बारे कार्ययोजना तयार गरिरहेको बोर्डले जनाएको छ। फरक फरक प्रकृतिका घटनामा ज्यान गुमाउने कामदारलाई फरक फरक हिसाबले छुट्याइ आर्थिक सहायता प्रदान गरिने निर्देशक श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।